‘लिपुलेक’ कलाकृति : यस वर्षको राष्ट्रिय ललितकला पुरस्कार पोखराकी शेरचनलाई

admin

चिप्लेढुङ्गा, ५ असार : ‘लिपुलेक’ कलाकृतिका लागि यस वर्षको ‘राष्ट्रिय ललितकला पुरस्कार’ पोखराकी अग्रज कलाकार मिलन शेरचनलाई प्रदान गरिने भएको छ । ललितकलाका विधामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका स्रष्टाहरुलाई ललितकला प्रज्ञा-प्रतिष्ठानले विभिन्न विधामा पुरस्कृत गर्दै आएको छ ।

यही बैशाख २ गतेदेखि हुने भनिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०७७’ बन्दाबन्दीका कारण स्थगित भएपछि सङ्कलन भएका कलाकृतिहरुको मूल्याङ्कनका आधारमा उनलाई रु ६० हजार राशिको सो पुरस्कार अर्पण गरिने प्रतिष्ठानले विज्ञप्तिमार्फत जनाएको छ ।

उनी ‘हानानो ओशिवाना’ अर्थात् झारपातबाट सुन्दर चित्र बनाउने कलाकारका रुपमा परिचित छिन् । उनले भनिन्, “यो निकै गर्विलो पुरस्कार हो, जो कोही कलाकारलाई यो पुरस्कार पाउन चाहना हुन्छ, मेरो पनि थियो पाएँ, निकै खुशी छु”, उनीसहित कास्कीका अन्य दुई स्रष्टाले विशेष र प्रादेशिक पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

प्रादेशिक पुरस्कारतर्फ कास्कीका दलबहादुर गुरुङले प्राप्त गरेका छन् । उनले ‘प्रतिस्थापन’ कलातर्फ रु २५ हजार राशिको पुरस्कार पाउन सफल भएका हुन् । विशेष पुरस्कारमा जिल्लाकै बाबुराम बस्ताकोटीले ‘जिम्ती’ कलाकृतिबाट रु २५ हजार राशिको पुरस्कार प्राप्त गरेका छन् ।

एक लाख रुपैयाँ राशि रहेको यस वर्षको ‘राष्ट्रिय अरनिको सम्मान-२०७७’ शङ्करनाथ रिमाल र सन्तकुमार शाक्यलाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । त्यस्तै ‘ललितकला राष्ट्रिय लेखन पुरस्कार-२०७७’ लय मैनाली र ‘ललितकला राष्ट्रिय पत्रकारिता पुरस्कार-२०७७’ केशवराज खनाललाई प्रदान गरिनेछ । प्रतिष्ठानले विभिन्न विधामा मूल्यांकन गरी दुई दर्जनभन्दा बढी पुरस्कृत हुने स्रष्टाको नाम सार्वजनिक गरेको हो ।

प्रतिष्ठानले जारी गरेको विज्ञप्तिका अनुसार कोभिड-१९ ले गर्दा स्थगित भएको ललितकला प्रदर्शनीलाई अनलाइन वा अन्य कुनै वैकल्पिक माध्यमबाट सञ्चालन गरिने भएको छ । कोरोना संकणबाट सुरक्षित हुन अहिले भौतिक उपस्थितिभन्दा अनलाइन माध्यम नै उपयुक्त हुने प्रतिष्ठानका कुलपति केके कर्माचार्यले बताएका छन् ।

प्रतिक्रिया