लोकतान्त्रिक व्यवस्थाप्रति भइरहेको षडयन्त्रप्रति सचेत हुनुपर्छ : मुख्यमन्त्री भट्ट

शर्मिला गुरुङ

धनगढी, १५ जेठ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सङ्घीय लोकतान्त्रिक व्यवस्थाप्रति भइरहेको षडयन्त्रप्रति सचेत हुनुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा मुख्यमन्त्री भट्टले सर्वोत्कृष्ट मानिएको गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै प्रदेश र देशको समृद्धिमा लाग्न जरुरी रहेको बताउनुभयो ।


उहाँले भन्नुभयो, “पुरानो सोच, चिन्तन र व्यवहारमा सुधार गरी परिवर्तनको अनुभूति गराउनेतर्फ जानुपर्छ ।” प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले गणतन्त्रलाई संस्थागत गर्दै समृद्धिको दिशामा जानका लागि प्रदेश सरकार अघि बढेको बताउनुभयो ।

समारोहमा प्रदेश प्रमुख मोहनराज मल्ल, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सरकारका सचिव, कर्मचारीलगायतको सहभागिता रहेको थियो । यसअघि धनगढीको ट्राफिक चोकबाट झाँकीसहित निस्केको प्रभातफेरी आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्राङ्गणमा पुगेर समारोहमा परिणत भएको थियो । रासस

प्रतिक्रिया