लोकसेवाका स्थगित परीक्षा साउन १५ गतेदेखि (तालिकासहित)

admin

काठमाडौं, १६ असार : लोकसेवा आयोगका रोकिएका परीक्षा आउँदो साउन १५ देखि सञ्चालन हुने भएका छन् । आयोगमा पदाधिकारी नियुक्ती भएलगत्तै स्थगित परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो । यसअघि कोरोना महामारी र आयोगमा पदाधिकारी नहुँदा परीक्षा स्थगित भएको थियो । पूर्व सूचनाअनुसार स्थगित भएका परीक्षा साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय भएको आयोगले जनाएको छ ।

स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने आयोगको तयारी छ । खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा अवरोध पुगेको थियो । परीक्षा सञ्चालनको सूचना प्रकाशित गरेर पनि कतिपय परीक्षा स्थगित भएका थिए । पदाधिकारी नियुक्ति भएपछि सहज हुने भएको हो । आयोगले ११ वटा विज्ञापनमा विविध कारणले रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशन लगायतको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले चालू आर्थिक वर्षको सबै विज्ञापन वार्षिक कार्यतालिकाअनुसार नियमित रूपमा गरेको थियो । विज्ञापन भए पनि सम्पूर्ण परीक्षा स्थगित भएका थिए । गत आर्थिक वर्ष २०७६/७७ मा समेत खरिदारको विज्ञापन प्रकाशन भई परीक्षा सञ्चालन हुन बाँकी थियो । लोक सेवा आयोगका प्रवक्ता तोयनारायण सुवेदीले स्वास्थ्यसम्बन्धी मापदण्ड र संक्रमणकालीन विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ पालना गरी परीक्षा सञ्चालन गरिने जानकारी दिए ।

प्रवक्ता सुवेदीले रोकिएका परीक्षालाई छिटो गर्नका लागि दुईदेखि तीन सिफ्टमा जाँच गर्ने तयारी रहेको समेत जानकारी दिए । प्रवक्ता सुवेदीले अघिल्लो वर्षका बाँकी अधिकांश परीक्षा असोजसम्म सक्ने कार्यतालिका रहेको जानकारी दिए । लोक सेवा आयोगले लिने सङ्गठित संस्थाहरूको विज्ञापन भइसकेको परीक्षा पनि सँगसँगै गरिने उनले स्पष्ट पारे । रोकिएका परीक्षा नियमित रूपमा सञ्चालन गर्नआयोगलाई तीनदेखि चार महिनासम्म लाग्ने छ ।

 

प्रतिक्रिया