वन विकासको नीति बनाउँदा नागरिक तथा उपभोक्ताको साथ लिएर बनाउँछौँ : प्रधानमन्त्री

admin

काठमाडौं, १८ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले वनसँग सम्बन्धित नीति बनाउँदा उपभोक्ताको साथ लिएर बनाउने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वन विकासको नीति बनाउँदा नागरिक तथा उपभोक्ताको साथ लिएर बनाउने बताएका हुन् ।

वनको सुरक्षा, संरक्षण तथा जीवजन्तुको सुरक्षा र संरक्षणका लागि पनि नागरिकको साथ लिने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा वन सखाप पारिएको भन्दै वन विकासको प्रतिफल दिने नीति आवश्यक रहेको औँल्याए ।

उनले भने, ‘वैज्ञानिक वन व्यवस्थापन भनेर त्यसको नाममा यो वन सखाप पार्ने नीति हो भन्ने चाहिँ ठानेको थिइनँ । यो त वैज्ञानिक भनेपछि राम्रो होला भनेको त, वैज्ञानिकको नाममा त सखाप नीति रैछ । त्यो सखाप नीति होइन, वैज्ञानिक नीति हुनुपर्‍यो । दिगो वन विकास नीति हुनुपर्‍यो । प्रतिफल दिने विकास नीति हुनुपर्‍यो र यो कुरा के भने हामी नीतिहरट्ठ बनाउँदा तपाईँहरूको साथ लिएर बनाउँछौँ । नागरिकको साथ लिएर बनाउँछौँ । उपभोक्ताको साथ लिएर बनाउँछौँ । देश विकास गर्नेदेखि लिएर वनको सुरक्षा, संरक्षण, जीवजन्तुको संरक्षण, सुरक्षा आदि सबै कुरा नागरिकको साथ लिएर बनाउँछौँ ।’

प्रधानमन्त्री ओलीले सामुदायिक वन उपभोक्ता समितिहरूले वनको संरक्षण गर्न भूमिका खेलेको बताए । उपभोक्ता समितिहरूले नष्ट भइसकेका वनहरूलाई पुनर्जीवन दिएको उनको भनाइ छ । फलस्वरूप वातावरणीय सन्तुलन कायम हुन योगदान पुगेको पनि प्रधानमन्त्री ओलीले बताए ।

उनले भने, ‘सायद उपभोक्ता समितिहरू नबनेका भए, सामुदायिक वनहरूको रूपमा व्यवस्थापन नगरेको भए अहिले हाम्रो वन क्षेत्रको धेरै प्रतिशत नष्ट भइसक्या हुन्थ्यो । नष्ट भइसकेका वनहरूलाई वन उपभोक्ता समितिहरूले पुनर्उत्थान गरेका छन् । तिनलाई पुनर्जीवन दिएका छन् र हाम्रो वातावरणीय सन्तुलन, हाम्रो वृष्टि, अनावृष्टि जस्ता कुराहरूलाई सन्तुलन र हाम्रो देशलाई बढ्दो तापक्रम नियन्त्रण गर्ने कुरामा ठूलो योगदान पुगेको छ ।’

प्रधानमन्त्री ओलीले सबै प्रकारका वनको सुरक्षा, समुचित प्रबन्ध र व्यवस्थापनमा सरकारको ध्यान रहेको पनि बताए । वनको अधिकतम सुरक्षा र विकास गरी नागरिक र राष्ट्रले अधिकतम प्रतिफल लिने कुरामा सन्तुलन कायम गर्ने पनि उनको भनाइ छ ।

प्रतिक्रिया