वाग्मती प्रदेशसभामा नीति तथा कार्यक्रमको धन्यवाद प्रस्ताव पारित

राष्ट्रिय समाचार समिति

हेटौँडा १३ जेठ :वाग्मती प्रदेशसभाको आजको बैठकले नीति तथा कार्यक्रममा धन्यवाद प्रस्ताव पारित गरेको छ । आज बसेको दोस्रो बैठकले प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएकामा सर्वसम्मतिबाट धन्यवाद प्रस्ताव पारित गरेको हो । उक्त धन्यवाद प्रस्ताव पारित गरियोस् भनी सत्तारूढ दल नेकपाका प्रमुख सचेतक केशवराज पाण्डेले प्रस्ताव गर्नुभएको थियो भने सहसचेतक बुद्धिमान माझीले समर्थन गर्नुभएको थियो ।

सोही बैठकमा आज नीति कार्यक्रममाथि २८ जना प्रदेशसभाका सदस्यहरुले आ–आफ्नो धारणा व्यक्त गरी सरकारलाई कोरोनाको थप उपचारका लागि अपनाउनुपर्ने पिसिआर परीक्षणलाई तीव्रता दिएर रोगको पहिचान गर्न आग्रह गर्नुभयो ।

सो छलफल कार्यक्रममा नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कोरोना प्रकोपको सङ्क्रमणलाई नियन्त्रण गर्ने परीक्षणको सङ्ख्या बढाउने, प्रदेशको जिल्लाहरुमा सुविधायुक्त प्रयोगशालाको स्थापना गर्ने र वैदेशिक रोजगारीमा गएका युवाहरुलाई स्वदेशमा फिर्ता ल्याई रोजगार मुलुक कृषि उत्पादन र घरेलु उद्योगमा आबद्ध गराउन वाग्मती सरकारको बजेटले समेट्नुपर्ने सुझावहरु प्रस्तुत गर्नुभयो ।

उहाँले सांसदहरुलाई पूर्वाधार विकासका लागि दिँदै आएको रु तीन करोड रकम अब सांसदलाई होइन अब कोरोना नियन्त्रण उद्धार कोषका लागि हस्तान्तरण गर्न र प्रदेशको स्थानीय तहसँग सरकारले समन्वय गरेर आवश्यक थप क्वारेन्टिन र आइसोलेशन कक्षको स्थापना गर्नेतर्फ बजेट विनियोगन गर्नेतर्फ सहमति कायम गर्न आग्रह गर्नुभयो ।

उहाँले नीतिगत कार्यक्रममा विपन्न एवम् ज्यालादारीमा काम गर्ने कृषक र मजदूरहरुलाई पनि अब आगमी बजेटले प्रत्यक्ष रोजगार दिने अवसर जुटाउन प्रदेश सरकारले नयाँ रणनीतिका साथ कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

छलफलमा अन्य प्रदेशसभा सदस्यहरुले महिला प्रसूति सेवा, महिलाहरुको पाठेघर एवम् स्तन क्यान्सर र मिर्गौलापीडित बिरामीहरुलाई तत्कालै सरकारले सुविधायुक्त उपचार सेवा प्रदान गर्न दक्ष चिकित्सक र नियमित डाइलासिस उपलब्ध गराउन प्रदेश सरकारले नीतिगत कार्यक्रम ल्याउन तत्पर हुनुपर्ने सुझाव दिनुभयो ।

उहाँहरुले प्रशासन यन्त्रलाई सुशासन कायम गरी जनतालाई दिगो शान्तिसुरक्षा आर्थिक आत्मनिर्भरतर्फ उन्मुख गराउने कार्यक्रमप्रति सरकार जिम्मेवार हुनुपर्ने सुझाव दिनुभयो । प्रदेशको १३ जिल्लामा राष्ट्रिय गौरवको आयोजना खानेपानी सडक निर्माण स्वास्थ्य उपचार र घरेलु उद्योगलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई बजेट विनियोजन गरी आर्थिक सङ्कटबाट प्रदेशलाई मुक्त तुल्याउन सरकार सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रदेशसभाका उपसभामुख राधिका तामाङले अर्को बैठक यही जेठ १४ गते बिहान ११ बजे बस्ने घोषणा गर्नुभयो ।

प्रतिक्रिया