वामदेव गौतमद्वारा ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रम

admin

काठमाडौं, १४ माघ : नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले बुधबार पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै छन् । ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा औपचारिक कार्यक्रम गरी अभियानको घोषणा कार्यक्रम सुरु गरिएको हो । प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा विभक्त भएका बेला गौतमले पार्टी एकता राष्ट्रिय अभियान सुरु गरेका हुन् ।

कार्यक्रम सहभागीलाई नेकपा एकता राष्ट्रिय अभियान अवधारणापत्र हस्तान्तरण गरिएको छ । अवधारणापत्रमा पार्टी एकताको कारण अध्यक्षद्वय बीचको अविश्वासलाई चित्रित गरिएको छ । कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पनि निमन्त्रणा गरिएको छ । तर उनीहरू कार्यक्रममा उपस्थित भएका छैनन् ।

पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा रहेकोले आफूले राष्ट्रिय एकता अभियानको घोषणा गर्न लागेको उपाध्यक्ष गौतमले बताएका छन् । पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम-प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत एकतावद्ध गर्ने उद्देश्य राखिएको उपाध्यक्ष गौतमको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा विघटनको घोषणाअघि प्रधामन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्दै आएका गौतम प्रतिनिधिसभा विघटनपछि भने कुनै पनि समूहमा रहेका छैनन् । आफू प्रचण्ड-नेपाल समूह या ओली समूहमा नजाने भन्दै उनले पार्टी एकता अभियान सुरु गर्न लागेका हुन् । प्रतिनिधिसभा विघटनको कदम गलत रहेको तर आफू नेकपाका दुबै समूहलाई मिलाएर अघि बढ्न सक्रिय हुने र कुनै पनि समूहमा नलाग्ने उनको भनाई छ ।

प्रतिक्रिया