अझै बढ्न सक्ने वायु प्रदूषण

admin

काठमाडौं, १ माघ : मौसमविद्का अनुसार यसपालिको हिउँदमा खासै पानी नपर्ने अनुमान छ । हिउँदे वर्षा खासै नहुने हुँदा सुख्खासँगै वायु प्रदूषण पनि बढ्ने सम्भावना छ । गएको हप्ता पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात भए पनि देशका अन्य ठाउँमा खासै पानी परेन । मौसम धुम्मिए पनि वर्षा हुने गरी पश्चिमी वायु प्रवेश नगर्दा देशका धेरै ठाउँमा सुख्खा बढेको छ ।

गत वर्ष यतिबेला दुईरतीन पटकसम्म हिउँदे वर्षा भएको वरिष्ठ मौसमविद् वरुण पौडेल बताउँछन् । उनकाअनुसार अहिले मौसम धुम्मिए पनि आउँदो एक हप्तासम्म पानी पर्ने सम्भावना छैन । यही जनवरी महिनाको अन्तिमसम्ममा पश्चिमी वायुको शक्तिशाली प्रणाली प्रवेश गरे मात्रै पानी पर्ने उनको भनाइ छ ।

काठमाडौं उपत्यकामा साढे ३ महिनादेखि पानी परेको छैन । यसले गर्दा धुवाँ धुलो बढ्दै गएको छ । सुख्खा भएपछि आगलागीका घटना पनि बढ्ने भएकाले प्रदूषण अझै बढ्ने अनुमान गरिएको छ । यसपालि पश्चिमी वायुले ल्याउने प्रणाली पानी पर्ने खालको नभएकाले सबै ठाउँमा वर्षा नभएको मौसमविद् पौडेलले बताए ।

नेपालमा पश्चिमी वायु प्रवेश गरे पनि पर्याप्त जलवाष्पयुक्त हावा नआएकाले वर्षा हुन नसकेको हो । अहिले बादल लागे पनि पानी पार्ने प्रणाली नहुँदा सुख्खा हावा मात्रै चल्ने गरेको मौसमविद् बताउँछन् । जल तथा मौसम विज्ञान विभाग, हावापानी विश्लेषण शाखाकी प्रमुख डा. इन्दिरा कँडेलले पनि यसपालिको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेको बताए ।

उनकाअनुसार सुख्खा हुने भन्नुको अर्थ औसतभन्दा केही बढी नै तापक्रम रहनु हो । दक्षिण एसियाली जलवायु आँकलन मञ्चले हरेक वर्ष हिउँद र वर्षाको समयमा हावापानी र जलवायुको अवस्था विश्लेषण गर्दै आएको छ । यसपालि हिउँदको समयमा हुने मौसम परिवर्तनको अवस्थाबारे भएको प्रारम्भिक विश्लेषणमा धेरैजसो देशले सुख्खा हुने अर्थात् तापक्रम औसतभन्दा बढी नै रहने विश्लेषण गरेको कँडेलले जानकारी दिइन् ।

यस्तै, बिहीबार पनि देशका धेरै ठाउँको मौसम आंशिक बद्ली हुने अनुमान गरिएको छ । अहिले देशका धेरै ठाउँमा हुस्सु, कुहिरो लागेको छ । पश्चिम र मध्य तराईमा बाक्लो हुस्सु लागेको छ । दिउँसोपछि तराईका जिल्लामा लागेको हुस्सु हट्दै जाने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया