विदेशमा कोरोनाबाट दुई सय ४४ नेपालीको ज्यान गयो

admin

काठमाडौं, ४ असोज : विदेशमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जना नेपालीको ज्यान गएको छ । यो साता अमेरिकामा थप एक जनाको ज्यान गएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ ।

योसँगै हालसम्म विदेशका विभिन्न १७ देशमा संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिका संयोजक संजिव सापकोटाले बताएका छन् ।

स्वास्थ्य समितिका अनुसार यो साता यूके, स्पेन र भारत, लगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ भने ब्राजिल र युगाण्डामा पनि नयाँ संक्रमण देखा परेको छ । समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

कोरोनाका कारण हालसम्म अमेरिका, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् ।

यस्तै नेपालमा मात्र ६२ हजार ७ सय ९७ जना कोरोनाबाट संक्रमित भएका छन् भने ती मध्ये ४५ हजार २ सय ६७ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ७२ दशमलव ०८ प्रतिशत हो ।

हालसम्म नेपालमा ४ सय १ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । संक्रमणका कारण नेपाल सहित विश्वभर जम्मा ६ सय ४५ जनाको निधन भएको स्वास्थ्य समितिले जनाएको छ ।

यस्तै विश्वभर १ लाख ८ सय ३१ जनामा नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ७९ हजार ७ सय ८२ जना कोरोना मुक्त भएका छन् । नेपाल सहित संक्रमणबाट मुक्त हुनेको संख्या औसत ७० दशमलव ५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया