विदेश जानेहरुलाई काठमाडौंका यी विभिन्न केन्द्रबाट जोन्सनको खोप दिन सुरु

admin

काठमाडौं, ७ पुस : सरकारले विदेश जानेहरुलाई प्राथमिकता दिएर काठमाडौंका विभिन्न अस्पतालबाट जोन्सन एण्ड जोन्सनको खोप दिन सुरु गरेको छ ।

सैनिक अस्पताल छाउनी, शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीर अस्पताल, निजामती अस्पताल बानेश्वर, प्रसूति गृह थापाथली र टेकु अस्पतालबाट खोप लगाउन पाइने खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिएका छन् ।

जोन्सनको खोप एक डोज मात्रै लगाउँदा हुने भएकाले विदेश जानेहरुले यही खोप खोज्ने गरेका छन् । गत बिहीबार नेपालमा जोन्सन एण्ड जोन्सनको थप २१ लाख ७६ हजार ६ सय ५० मात्रा ल्याएपछि काठमाडौंका अस्पतालहरुबाट वितरण थालिएको हो ।

यी अस्पतालहरुबाट जोन्सनसँगै कोभिसिल्ड र भेरोसेलको खोप पनि पाइन्छ भने जोन्सनको खोप विदेश जानेहरुलाई प्राथमिकतामा राखेर दिन थालिएको प्रमुख दाहालले बताए । यसअघि अमेरिकाबाट आएको यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक तथा अपाङ्गता भएका व्यक्ति, नेपालमा बसोबास गर्ने शरणार्थी, स्वास्थ्यकर्मी र सफाइकर्मीलाई दिइएको थियो ।

त्यसपछि वैदेशिक रोजगारीमा जानेहरुलाई पनि यो खोप दिइएको थियो । तर खोप पर्याप्त नहुँदा विदेश जानेहरुले पाउन सकेका थिएनन् । जोन्सनको खोप पाउने काठमाडौंका अस्पतालहरुबाट भेरोसेल र कोभिसिल्डको खोप पनि लगाउन पाइने खोप शाखाले जनाएको छ ।

यसअघि कुनै एक केन्द्रमा एक किसिमको खोप पाउने गरेकोमा अब सबै केन्द्रमा एक मात्रा लगाए पुग्ने जोन्सन एण्ड जोन्सन र दुई मात्रा लगाउनुपर्ने भेरोसेल र कोभिसिल्ड खोप लगाउन सकिनेछ । खोप लगाउन छुटेका १८ वर्षमाथिका नागरिकलाई तोकिएको केन्द्रमा गएर खोप लगाउन सरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया