विद्यालयसँगै रात्रिकालीन व्यवसाय पनि बन्द, मन्दिरमा नित्यपूजा मात्रै गर्न पाइने सरकारको निर्णय

admin

काठमाडौं, ६ बैशाख : सरकारले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस (कोभिड-१९) सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार सहरी क्षेत्रका विद्यालय बैशाख महिनाभरि भौतिक रुपमा बन्द गरी भर्चुअल रुपमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

उनका अनुसार कोरोना संक्रमणको उच्च जोखिममा रहेको काठमाडौं उपत्यका, पोखरा, विराटनगर, भरतपुर, नेपालगञ्जलगायत सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । संक्रमणबाट बालबालिका उच्च जोखिममा परेपछि आजको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन नदिने पनि निर्णय गरेको छ ।

यस्तै, रात्रिकालीन व्यवसाय पनि बन्द गर्ने निर्णय गरेको छ । रातिको समयमा डान्सबार, दोहोरी साँझ लगायतलाई बन्द गर्ने निर्णय भएको मन्त्री ज्ञवालीले जानकारी दिए । यस्तै, बैठकले मन्दिरमा नित्यपूजा बाहेक अन्य पूजा र भीडभाड रोक्ने पनि निर्णय गरेको छ । यस्तै रङ्गशालामा खेल खेलाउन दिए पनि दर्शकलाई भने रोक्ने निर्णय भएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया