विना अक्सिजन दश पटक सगरमाथा आरोहण गरेका ‘आङरिता शेर्पा’को निधन

admin

काठमाडौं, ५ असोज : विना अक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ । सोमबार बिहान उनको आफ्नै निवास काठमाडौंको जोरपाटीमा निधन भएको उनका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिएका छन् ।

सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय ‘हिमचितुवा’को पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ । बुधबार बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ । उनले सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका थिए ।

सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो । सर्वोच्च शिखर सगरमाथा मात्रै नभएर विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटकपटक आरोहण गरेका थिए ।

आङरिताको आरोहण यात्रा
सन् १९४८ मा जन्मिएका आङरिता पुख्र्यौली पेशा चौरीपालन भए पनि १५ वर्षकै उमेरदेखि आरोहणमा लागेका थिए । पहिलो पटक करीब २० वर्षका उमेरमा चोयु हिमालको आरोहण गरेका शेर्पाले विनाअक्सिजन पहिलो पटक १९८३ मा सगरमाथा चुचुरामा पाइला टेकेका थिए ।

आरोहणका क्रममै रहेका आङरिता बिरामी भएपछि आरोहण यात्रा रोकिएको थियो । सगरमाथा आरोहणमा नजानुको मुख्य कारण उनी बिरामी भएका बेला तत्कालीन राजा वीरेन्द्रले युवराज दीपेन्द्रलाई घरैमा भेट्न पठाएका थिए ।

गोपीकृष्णमा भाडाका कोठामा बसेका शेर्पालाई भेट्न आएका दीपेन्द्रले ‘बुबा (वीरेन्द्र) ले आरोहणबाट सन्न्यास लेऊ भन्ने हुकुम भएको छ ।’ त्यसपछि उनी आरोहणमा नगएको परिवारको भनाइ छ ।

त्यसबेला राजा वीरेन्द्रले चाहना र आवश्यकता के छ भनेर सोधे पनि आफूले केही पनि चाहना व्यक्त नगरेको आङरिताले पत्रकारसँगको भेटमा भन्ने गरेका थिए । सन् १९९६ तिर दीपेन्द्रले “दरबार आउनू” भनेको भए पनि दरबार नगएको बताउने शेर्पा नेपाल सरकारबाट त्यसबेला त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु जस्ता तक्माबाट भने सम्मानित भएका थिए ।

दश पटकको विश्व कीर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् । नेपालको नाम विश्वभरि फैलाउन सफल आफूलाई भारत सरकारले उतै बस्न व्यवस्था मिलाइदिने प्रस्ताव राखे पनि नगएको बताउने शेर्पालाई नेपाल सरकारबाट भने खासै सहयोग प्राप्त नभएको उनकी छोरी डोमाले बताइन् ।

यद्यपि उनको आर्थिक अवस्था दयनीय भएको जनाउँदै नेपाल पर्वतारोहण सङ्घले नियमित सहयोग गर्दै आएको छ । छोरीका अनुसार पर्वतारोहण सङ्घले मासिक १५ हजार रुपैयाँ दिँदै आएको छ । आङरिताका तीन छोरा र एक छोरी छन् ।

जेठ छोरा कर्साङ आरोहण पेशामै थिए । माहिला छोरा छेवाङ दोर्जे भने अमेरिकामा छन् र कान्छा छोरा फुरानुरु खुम्बुमै चौरी धपाउने काम गर्छन् । छोरी डोमा जोरपाटीमा छिन् । आङरिता उनै छोरीसँग बस्दै आउएका थिए । उनीको सात वर्षअघि पत्नीको निधन भएको थियो ।

प्रतिक्रिया