विश्वका सबै देशसँग सन्तुलित सम्बन्ध कायम हुन्छ, नेपालको हितविरुद्ध कुनै सम्झौता हुँदैन : परराष्ट्रमन्त्री डा. खड्का

admin

काठमाडौं, ६ असोज : नवनियुक्त परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपालको हितलाई केन्द्रमा राखेर चीन, भारतसहित विश्वका सबै देशसँग सन्तुलित सम्बन्ध कायम गरिने जानकारी दिएका छन् । परराष्ट्र मन्त्रालयमा बुधबार पदबहाली गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय हितलाई सर्वोपरि मानेर छिमेकी देश चीन र भारतसहित विश्वका सबै देशसँग सुमधुर एवम् सन्तुलित सम्बन्ध कायम गरिने बताएका हुन् ।

वर्तमान विश्व परिवेशमा बाह्य सम्बन्ध सहज, सुदृढ एवम् सुमधुर बनाउन आवश्यक भएको र अहिले दक्षिण एसिया अन्तर्राष्ट्रिय समुदायको दृष्टिमा रहेको चर्चा गर्दै परराष्ट्र मन्त्रालयलाई अझ गतिशील आधुनिक प्रविधियुक्त बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता मन्त्री खड्काले व्यक्त गरे ।

उनले चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’, अमेरिकी अनुदान सहायता ‘मिलिनियम कर्पोरेशन च्यालेन्ज (एमसीसी)’ र हिन्द-प्रशान्त रणनीतिको अध्ययन गरिने र नेपालको राष्ट्रिय हितविरुद्ध कुनै किसिमको सम्झौता नगरिने स्पष्ट गरे ।

विभिन्न देशमा राजदूतको नियुक्ति नभएको र भएका देशबाट पनि फिर्ता बोलाइएको सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा सम्बन्धित देशको संस्कृति, संस्कार, अन्तर्राष्ट्रिय भाषा र कुटनीतिको ज्ञान भएका योग्य व्यक्तिलाई नियुक्ति गरिने बताए ।

उनले भने, ‘नेपालको राष्ट्रिय हित र स्वार्थ प्रवर्द्धन गर्न सबै राजनीतिक दलसँग विचार–विमर्श गरी अघि बढ्नेछौँ । सबै राजनीतिक दलको सहमतिका आधारमा देशको परराष्ट्र नीति सञ्चालन गरिनेछ ।’ साथै उनले भने, ‘नेपालको राष्ट्रिय हित प्रवर्द्धन गर्न सक्ने सीप र दक्षता भएको व्यक्तिलाई भन्दा पनि आफ्ना मान्छेलाई राजदूत नियुक्त गर्नु हुँदैन भन्ने मेरो मान्यता हो ।’

मन्त्री खड्काले बुधबार बेलुका संयुक्त राष्ट्र सङ्घको ७६औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गर्ने र त्यहाँ रहँदा विभिन्न देशका समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने जानकारी दिए ।

साथै उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशका विदेश मन्त्रीहरूसँग छलफल गर्ने जानकारी दिँदै यस्ता भेटघाट देशका हित प्रवर्द्धनका साथै कुटनीतक सम्बन्ध विस्तार गर्न सहयोगी हुने बताए ।

प्रतिक्रिया