व्यक्ति परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन हुन सकेन, राजनीतिको फोहरी खेलले जनतालाई दुःख दियो : कलाकार आचार्य

admin

काठमाडौं, २४ पुस : वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले नेपाली राजनीतिको फोहोरी खेलले नागरिकलाई दुःख दिइरहेको बताएका छन् । कलाकार आचार्यले शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै ४० वर्ष अगाडि आफूहरूले कलाकारिता सुरु गर्दा जस्तो अवस्था थियो अहिले व्यक्ति परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन हुन नसकेको बताए । राजनैतिक विसङ्गतिले गुण्डा प्रवृत्तिका व्यक्ति संसदमा छिरेको उनले टिप्पणी गरे ।

कलाकार आचार्यले भर्खरै समसामयिक राजनीतिलाई समेटेर एक व्यङ्ग्य मिश्रित गीत पनि सार्वजनिक गरेका छन् । गीतमा वरिष्ठ कलाकार आचार्यले ‘एउटा कुरा कसैलाई भन्नु हुँदैन, यो कुरोलाई गीत बनाएर गाउन मिल्दैन, हेर भाइ घने कुरो के छ भने टुँडिखेलमा हात देखाउँदा ज्योतिषीले धनी हुन्छौ भने, चुनाव लड्नु भने’ भन्ने व्यङ्ग्य समसामयिक राजनीतिमाथि कसेका छन् । नेपालमा बढ्दै गएको भ्रष्टाचार र राजनीतिक अस्थिरतालाई लिएर गीत बनाइएको कलाकार आचार्यले बताएका छन् ।

उनले भने, ‘यो गीत कुनै व्यक्ति तथा नेतालाई तोकेर भनेको पनि होइन । कुनै दललाई तोकेर भनेको पनि होइन । युट्युबमा फलानोको नाम लिएर यसलाई भनेको, यस्तो भनेको भनेर कमेन्टहरू आउँछ । तर प्रवृत्तिलाई भनेको हो । जुन नेपालमा दण्डहीनताको प्रवृत्ति छ, त्यो प्रवृत्तिमाथि व्यङ्ग्य गर्ने हो । हाम्रो आकाङ्क्षा, चिताएको कुरा के हो भने देशमा सुशासन होस् । विधिको शासन होस् । भ्रष्टाचार संसारमा जहाँ पनि हुन्छ । तर त्यसको पनि मापदण्ड हुन्छ । हाम्रो मापदण्ड एकदमै नाघेको जस्तो लाग्छ । हुन त सरकारले भ्रष्टाचार गर्न दिन्नँ, गर्न हुँदैन भनिराखेको छ । तर हामीले गरेको पनि देखिरहेका छौँ । कुनै व्यक्तिले नहोला तर समूहमा कसैकसैले गरेको देखिराखेका छौँ ।’

कलाकार आचार्यले राजनीतिक क्षेत्रमा लामो समयदेखि प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार गाडिएको पनि बताए । ‘चुनाव भन्ने एउटा यस्तो माध्यम भयो कि खुट्टामा चप्पल पनि लगाउन नसक्नेहरूले चुनाव लडिसकेपछि केही वर्षमा गाडी चढेर हिँडेको हामीले देखेका छौँ । तर सबै नेतालाई भनेको होइन । गीतमा पनि त्यही भनिएको छ’, उनले भने ।

राजनीतिमा लागेर धेरै व्यक्तिहरू अर्बपति भएको र रहनसहनमा ठूलो परिवर्तन आएको देखिएको कुरालाई गीतले देखाएको पनि आचार्यले बताए । राजनीतिलाई नै उद्योग बनाउन भएन, व्यापार बनाउन भएन भनेर गीतमा देखाउन खोजिएको छ । नेपालमा यही प्रवृत्ति रहेका कारण नागरिकमा निराशा आएको उनको भनाइ छ । उनले भने, ‘नागरिकमा बढी निराशा छाएको कारण पनि त्यही हो । प्रवृत्ति, भ्रष्टाचारको प्रवृत्ति रोकियोस् । राजनीतिमा मात्रै होइन प्रशासनिक क्षेत्रमा पनि त्यत्तिकै छ । नागरिकलाई सानो काम गर्न पर्‍यो भने पनि केही राहत नदिइकन त्यो काम फत्ते होला भन्ने आश नै गर्नुपर्दैन ।’

राजनीतिक नेतृत्वले देशको पूरै राजनीतिक प्रणालीलाई आफू जस्तै बनाएको विषयलाई पनि गीतमा देखाउन खोजिएको उनले बताए । ‘मैले बेलाबेलामा भन्ने पनि गर्छु, घरमा बुबा जँड्याहा हुँदा छोराछोरी पनि जँड्याहा हुन सक्छन् । बिग्रिन सक्छन् । बुबा नै, आमा नै अनुशासनमा छैनन् भने छोराछोरीलाई अनुशासनमा बस भनेर भएन । हाम्रो राजनीतिको अभिभावकत्व नै बिग्रिएको जस्तो लाग्छ । तर मैले एउटा व्यक्ति कसैलाई भनेको होइन । यो प्रवृत्तिलाई भनेको हो । त्यही प्रवृत्तिमाथि बनाएको गीत हो ।’

देशको प्रजातन्त्र एउटा प्रजातान्त्रिक प्रवृत्तिमा भन्दा पनि राजनीतिक नेतृत्व गर्ने व्यक्तिको प्रवृत्तिमा निर्भर गरेको उहाँले बताउनुभयो । उनले भने, ‘जुन भाँडामा पानी हालिन्छ त्यही आकार जस्तो भयो ।’ कुनै पनि व्यक्ति कला साहित्यको क्षेत्रमा सफल हुँदैमा राजनीतिमा सफल नहुने मान्यता पनि आचार्यको छ । राजनीतिक व्यक्तिमा सङ्गठन निर्माण, योजना निर्माणलगायतमा योग्य हुनुपर्ने बताए । ‘कला साहित्यको क्षेत्रमा केही गर्न सक्यो भन्दैमा राजनीतिमा पनि त्यो मान्छे सफल हुन्छ भन्ने छैन । त्यो प्रकृतिले दिएको हुन्छ । सङ्गठन गर्न सक्ने क्षमता एउटा नेतामा हुनुपर्छ । कुनै नेतामा योजना बनाउन सक्ने क्षमता हुनुपर्छ । हामी न योजना गर्न सक्ने क्षमतामा प्राक्टिस गर्‍यौँ । हामीभन्दा धेरै पढेलेखेका योजनाकार हुनुहुन्छ ।’

तर चुनावमा राजनीतिक नेतृत्वले ठिक व्यक्ति छान्न नसक्दा राजनीतिमा सही व्यक्ति आउन नसकेको बुझाइ पनि आचार्यको छ । ‘चुनाव दलहरूले पनि जितेका छन्, सानाहरूले पनि जितेका छन् । काला व्यापारीहरूले पनि जितेका छन् । त्यस्तो प्रवृत्ति भएका मान्छेहरूको साथ लिएर प्रधानमन्त्री हुनुपर्ने, राष्ट्रपति हुनुपर्ने छ । मान्छेको चरित्र आचरण नबुझिकन जो पायो त्यसलाई राजनीतिक पार्टीले टिकट दियो भने फेरि चुनाव जितेर आउने डनहरू नै हुन् । डनहरूले छानेको मान्छेहरूलाई स्वच्छ शासन गर्न गाह्रो हुन्छ । ती व्यक्तिहरूसँग डर भइरहन्छ । त्यो कारणले गर्दा राजनीतिक संस्कार नै परिवर्तन हुनुपर्छ’, आचार्यले भने ।

प्रतिक्रिया