संविधानकै ह’त्या भएको छ, जन्त जाँदा रुँदै जाने मलामी जाँदा हाँस्दै जाने केपी ओली जस्तो होइनौं हामी (भिडियोसहित)

admin

काठमाडौं, ४ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटनको निर्णयले संविधानकै नै ह’त्या हुने काम भएको अवस्थामा आफू हाँस्न नसक्ने प्रतिक्रिया दिएका छन् । आइतबार काठमाडौंमा भएको राष्ट्रिय युवा सङ्घको बैठकमा अध्यक्ष दाहालले देश तनावमा रहेको र संविधानको चिन्ता भइरहेको समयमा हाँस्न नसकिने बताएका हुन् ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लक्षित गर्दै उनले संविधानकै ह’त्या भएको समयमा हाँस्न र हँसाउन नसकिने बताएका हुन् । शनिबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आम नागरिकको मुहारमा मुस्कान ल्याउन आफूले हसाउँदै हिँडेको भन्दै अब आफू नागरिकलाई रुवाउने पक्षमा नरहेको बताएका थिए ।

प्रतिक्रियावादीहरूसँग साँठगाँठ गरेर प्रतिनिधि सभा विघटन गरेको भन्दै अध्यक्ष दाहालले ओलीलाई प्रधानमन्त्री पार्टीले बनाए पनि पार्टी निर्णय नमानेर देशलाई दुर्घटनातिर धकेलेको आरोप लगाए । अध्यक्ष दाहालले युवाहरूको काँधमा भोलिको नेपालको नेतृत्व गर्ने जिम्मेवारी आएको भन्दै दुनियाँले देख्ने गरि आन्दोलनलाई सशक्त बनाउन आग्रह गरे ।

लामो समयको सङ्घर्ष र बलिदानपछि पाएको संविधानमाथि प्रहार भएको भन्दै उनले सिङ्गो देश नै स्तब्ध भएको बताए । प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहले पहिलो चरणको आन्दोलन सकेर दोस्रो चरणको आन्दोलन गरिरहेको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सिंगो देश रोएका बेला ओली हाँसेर बसेको समेत बताएका छन् । ‘केपी ओली मलामी जानेबेलामा हाँस्दै हिँड्नुभएको छ । जन्ती जानेबेलामा रुँदै हिँड्नुहुन्छ’, दाहालको भनाइ छ । ‘देश वर्वाद भइरहेको छ । डढेलो लागेको छ । तर ओलीजी हाँसिरहनुभएको छ । नांगै भएर पनि हाँस्नुहुन्छ’, दाहालले भने ।

‘नौ गतेको आन्दोलनमा म अगाडि हुन्छु । तपाईंहरु पछि बस्नुस् । मलाई किन हो टाउको चिलाएर हो कि के हो लाठी खान मन लागेको छ’ दाहालको भनाइ छ । ‘प्रतिगमन’लाई परास्त गर्न तय भएको संघर्षमा नेता कार्यकर्ताको टाउको जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री केपी ओलीले अदालत र निर्वाचन आयोगलाई धम्क्याउदै हिँडेको भन्दै दाहालले उनको सेटिङप्रति शंका गर्नुपर्ने बताए । ‘सेटिङ भैसकेको छ हाम्रै पक्षमा फैसला आउछ भन्ने केपी ओली र उनका मान्छेहरुप्रति शंका गर्नुपर्छ’, दाहालले ओलीको सेटिङविरुद्ध पनि आन्दोलन कडा बनाउनुपर्ने बताए ।

प्रतिक्रिया