सडक बनाउँदै प्राधिकरण

शर्मिला गुरुङ

बलेवा, २४ फागुन : सामान्यतया निजी आवास बनाउने भूकम्प पुनःनिर्माण प्राधिकरण र जिल्ला कार्यान्वयन एकाइले बागलुङको एक सडक पनि निर्माण गर्न थालेको छ । भूकम्पको समयमा पहिरोले क्षतविक्षत् भएकाले बुर्तिवाङदेखि बुङ्गादोभान जाने सडक बनाउन लागिएको हो ।

चालु आर्थिक वर्षभित्रै सक्ने गरी यो सडकको काम शुरु भएको हो । यो सडक आगामी असार मसान्तसम्म सक्ने गरी काम भएका पुनःनिर्माण आयोजनाका उपनिर्देशक रामाशिष साहले बताउनुभयो ।

सडक निर्माणको क्रममै हिउँदे बाटोमा तमानखोला गाउँपालिकाको केन्द्र बुङ्गादोभानमा बस पुग्न थालेका छन् । यो सडकमा दुईवटा पुलसमेत प्राधिकरणले बनाउने छ । यो सडक बनेपछि बुर्तिवाङदेखि तमानखोला गाउँपालिकाको केन्द्रसम्म सहजै पुग्न सकिन्छ ।
आयोजनाले यो सडकका लागि रु १५ करोड ७९ लाख खर्च गर्न लागेको हो । अहिलेसम्म ५० प्रतिशत काम सकिएको साहले बताउनुभयो ।

श्रमिक महिलाको बस्तीमा सचेतना

१०९ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा श्रमिककै कार्यथलोमा पुगेर घरेलु हिंसा र लागुपदार्थ सेवन विरुद्धको कार्यक्रम सञ्चालन गरिएको छ । महिला हित बचत तथा ऋण सहकारी संस्था र जिल्ला प्रहरी कार्यालय बागलुङले मालढुङ्गाको माझी बस्तीमा पुगेर सचेतना अभियान गरिएको हो ।

पर्वत र बागलुङका माझी तथा बोटे समाजले कालीगण्डकी नदी किनारमा ढुङ्गा र बालुवाको काम गरेर जीवननिर्वाह गर्दै आएका छन् । उनीहरुलाई सचेतना दिनका लागि आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक चिरञ्जीवि कोइरालाले श्रम र बचत गर्ने व्यक्ति संसारका सुखी भएको बताउनुभयो ।

कार्यक्रममा सहकारी संस्थाकी अध्यक्ष लीला खड्काले हिंसा विरुद्धका कार्यक्रमलाई देशव्यापी सञ्चालन गरेर समाजलाई सभ्य बनाउन आवश्यक भएको बताउनुभयो । रासस

प्रतिक्रिया