सरकारी कागजात कीर्ते गरी जग्‍गा पास, मुख्य अभियुक्त पक्राउ

admin

ओखलढुंगा, साउन १० : सुनकोसी गाउँपालिका वडा नम्बर ९ को छाप, लेटरप्याड, मालपोत रसिद लगायतका सरकारी कागजात कीर्ते गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनकोसी गाउँपालिका ९ ककनीका कर्णबहादुर तामाङ रहेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका उनलाई बिहीबार जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी पुष्पराज मल्लले जानकारी दिए। उनीविरुद्ध सरकारी कागजात कीर्तेमा मुद्दा चलाइएको छ। यसअघि सोही मुद्दामा ४४ वर्षीय पञ्चबहादुर तामाङ र अम्बरबहादुर तामाङ पक्राउ परेका थिए।

कर्णबहादुरको अगुवाइमा सबै कागजात कीर्ते गरेर जग्गा कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। सरकारी कागजात कीर्ते गरी जग्गा समेत कारोबार गरेर कर्णबहादुर फरार थिए। पक्राउ परेका अन्य व्यक्तिहरूले समेत सबै कागजात कर्णबहादुरले मिलाएको बयान दिएका छन्। जग्गा पास गर्न ३५ दिने सूचना समेत मिलेमतोमा प्रकाशित गरेर कारोबार गरेको पाइएको छ।

कीर्ते कागजातका आधारमा जग्गा पास गर्ने जिल्ला मालपोत कार्यालय र लेखापढी व्यवसायीको समेत संलग्नता रहेकाले छानबिन गर्न स्थानीयले माग गरेका छन्। कीर्ते सूचनाका आधारमा कार्यालयले सबै कागजात समेत कीर्ते नै राखेर जग्गा रजिस्ट्रेसन गरी लालपुर्जा समेत जारी भएको पाइएको छ।

मुद्दा अनुसन्धानमा रहेको भन्दै प्रहरीले विस्तृत विवरण दिएको छैन। मुद्दामा प्रतिवादी रहेका पञ्चबहादुर ९ नं. वडा कार्यालयको छाप, लेटरप्याड, मालपोत रसिद, सर्जमिन मुचुल्का लगायतका कागजात कीर्ते गरेर जग्गा नामसारीका लागि मालपोत कार्यालयमा पेश गर्ने क्रममा पक्राउ परेका थिए। उनीमाथि अनुसन्धान गर्दा जग्गा पास भइसकेको र अरुको मिलेमतो रहेको रहस्य खुलेको हो।

सर्जमिन मुचुलका, सिफारिस लगायतमा कार्यावाहक वडाध्यक्ष भनेर धनबहादुर तामाङ र टंकबहादुर कटवालको नाम उल्लेख गरिएको छ। तामाङ र कटवाल दुवै उक्त वडाका वडा सदस्य हुन्। उनीहरूले आफ्नो नाममा कीर्ते भएको भन्दै वडा कार्यालयमा उजुरी गरेपछि वडा कार्यालयले छानबिनका लागि प्रहरीलाई आग्रह गरेको थियो।

छाप, मालपोत रसिद, सर्जमिन मुचुल्का तथा हस्ताक्षर समेत कीर्ते गरेर जिल्ला मालपोत कार्यालय ओखलढुंगाबाट अनाधिकृत व्यक्तिका नाममा जग्गा नामसारी गरेको पाइएको वडा नं. ९ अध्यक्ष झनक कार्कीले बताए। कार्कीको जाहेरीका आधारमा प्रहरीले उनीहरू विरुद्ध मुद्दा चलाएको हो। उनीहरूले कीर्ते गरेर हकवालालाई थाहै नदिइ अरुको नाममा पास गरेको पाइएको कार्कीले जानकारी दिए। गिरोहकै रुपमा लामो समयदेखि कीर्ते गरेर काम भएको हुन सक्ने भएकाले गम्भीर छानबिन गर्न प्रहरीलाई पत्र लेखेको कार्कीको भनाई छ। उनले मालापते कार्यालयमा कीर्तेका आधारमा गरिएको जग्गा पास रद्द गर्ने प्रकृयामा रहेको पनि बताए।

प्रतिक्रिया