सहकारीको विकृति नियन्त्रण गरिने : मन्त्री अर्याल

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २८ साउन : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले वित्तीय संस्थामा मौलाउँदै गरेको विकृति नियन्त्रण गर्ने दिशातर्फ जानुपर्ने बताउनुभएको छ । स्वावलम्बन विकास केन्द्रको २८ औँ वार्षिकोत्सव तथा उद्यमशीलता विकास पुरस्कार वितरण कार्यक्रममा आज उहाँले लघुवित्त संस्था र सहकारीको प्रकृति उस्ताउस्तै भएकाले सहकारीको विकृतिलाई नियन्त्रण गरिने बताउनुभयो ।

“सहकारी संस्था ठूलो भएपछि मानसिकताहरु विकृति बन्न थालेका छन्” उहाँले भन्नुभयो, “संस्थालाई पारदर्शी बनाउने र मौलाउँदै गरेको विकृति नियन्त्रण गर्ने दिशामा हामी जानुपर्छ ।” सरकारले अहिले सहकारीको समस्या समाधान गर्न लागिरहेको उल्लेख गर्दै उहाँले सहकारीलाई बेलैमा नियन्त्रण नगरिए पछि समस्या आउने बताउनुभयो ।

“सहकारीलाई अब साँच्चिकै नियन्त्रण नगर्ने हो भने दुई वर्षपछि झनै समस्या आउँछ”, उहाँले भन्नुभयो, “सहकारी नियमावलीमार्फत सहकारीलाई नियन्त्रण गर्न प्रयासमा छौँ ।” मन्त्री अर्यालले एउटा मान्छे धेरै संस्थामा बस्ने समस्या रहेकाले अब त्यो अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले सहकारी कर्जा कोष सञ्चालन गरिसकेकाले सहकारी क्षेत्रका विकृतिलाई नियन्त्रण गर्न सहयोग पुग्नेमा जोड दिनुभयो ।

मन्त्रालयले अहिले गरीब पहिचानको काम गरिरहेको जानकारी गराउँदै उहाँले गरीब पहिचानमा पनि प्रविधिको प्रयोग गरेर समस्या उत्पन्न नहुने गरी काम सम्पन्न गरिने भनाइ राख्नुभयो । सोही अवसरमा काभ्रेपलाञ्चोकको मानसी लघुवित्त वित्तीय संस्थालाई रु एक लाखसहित यस वर्षको लघु उद्यमशीलता विकास पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया