साउदी युवराजले इन्डोनेसियाको पनि भ्रमण गर्ने

शर्मिला गुरुङ

जाकार्ता, २ फागुन (रासस÷एएफपी)  : साउदी अरबका युवराज मोहम्मद बिन सलमानले अर्को हप्ता इन्डोनेसियाको भ्रमण गर्नुहुने भएको छ । सलमानले पाकिस्तान र भारतको भ्रमण गर्ने समाचार आएसँगै इन्डोनेसियाको पनि भ्रमण गर्ने समाचार सार्वजनिक भएको हो ।
एसियाली राष्ट्रको भ्रमण गर्ने सिलसिलामा उहाँले मुसलमानहरुको बाहुल्यता रहेको देश इन्डोनेसियाको पनि भ्रमण गर्न लाग्नु भएको अधिकारीहरुले जनाएका छन् । उहाँले यसैक्रममा मलेसियाको पनि भ्रमण गर्नुहुने भएको छ । युवराज सलमानको दुई दिने इन्डोनेसिया भ्रमण आगामी सोमबारबाट शुरु हुन लागेको समाचारमा जनाइएको छ ।


“उहाँ यही फेब्रुअरी १८ मा इन्डोनेसिया आउनुहुने छ भने फेब्रुअरी १९ मा राष्ट्रपतिलाई भेट्नुहुने छ,” राष्ट्रपति कार्यालयका प्रवक्ता जोहन बुडीले एएफपीसँग भन्नुभयो । इन्डोनेसिया आउनु भन्दा अगाडी उहाँ पाकिस्तान र मलेसियाको भ्रमण गर्नुहुने छ भने त्यसपछि उहाँ भारत जानुहुने छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको उहाँको भारत भ्रमण यही फेब्रुअरी १९ देखि सुरु हुने अधिकारीले जनाएका छन् ।

पाकिस्तानको दुई दिने भ्रमण भने यही फेब्रुअरी १६ तारिखदेखि गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।युवराज सलमानले यसअघि आफ्ना बुवासँग सन् २०१७ मा इन्डोनेसियाको भ्रमण गर्नु भएको थियो ।

आपसी सम्वन्ध र सहयोग आदान प्रदानका विषयमा भ्रमण केन्द्रीय हुने जनाइएको छ । विज्ञान, स्वास्थ्य र अपराधसँग सम्वन्धी विषयमा दुई देशबीच सम्झौता गर्ने तयारी भएको इन्डोनेसियाका अधिकारीहरुले बताएका छन् ।

युवराज सलमान नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा मन्त्री, उच्च सरकारी अधिकारी, उच्चस्तरीय व्यवसायीलगायत सहभागी हुने भएका छन् ।

आसन्न भ्रमणको तयारीका लागि संवन्धित देशहरुले सुरक्षा व्यवस्थाको तयारीलाई तिव्र पारेका छन् भने साउदी अरबबाट पनि सुरक्षा टोली खटिएका छन् ।

त्यसैगरी स्वास्थ्यकर्मी र सञ्चारकर्मीको टोली पनि सम्वन्धित देशहरुमा गइसकेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया