सिन्धुपाल्चोकस्थित बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो

मनिषा थापा

सिन्धुपाल्चोक : सुनकोसी गाउँपालिका-६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । १६ जना घाइतेमध्ये २ को अवस्था चिन्ताजनक रहेको छ ।

दोलखा कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा४ ख ४४६८ नम्बरको यात्रुबस आइतबार बिहान लामोसाँघु-जिरी सडकखण्डअर्न्तगतको ६ किलोबाट ५ किलोमा सडकमै खस्दा १४ जनाको मृत्यु भएको हो। १२ जनाको घटनास्थलमै ज्यान गएको हो भने एक बालकसहित अर्का व्यक्तिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकमा ३ बालकबालिका, ८ महिला र३ पुरुष रहेको प्रहरीले जानकारी दिएको छ।मृतकहरूको सनाखत गराउने काम भइरहेको जिल्ला ट्राफिक कार्यालय खाडीचौरले जनाएको छ।‘१६ घाइतेलाई धुलिखेल अस्पताल र खाडीचौरस्थित सिन्धुसदाबहार अस्पतालमा लगिएको छ, दुई जना सख्त घाइते छन्,’ जिल्ला ट्राफिक प्रमुख राजेशकुमार दाहालले बताए।

प्रहरीकाअनुसार करिब सय मिटर तल खसेको थियो। बसमा दोलखाको कालिञ्चोक घुमेर फर्किएका भक्तपुर च्यामासिंह, काभ्रे र सिन्धुपाल्चोक जलविरेका यात्रु हुनसक्ने घटनास्थल पुगेर फर्केका इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले बताए। उनले ओभरटेक गर्नलाग्दा बस खसेको देखिने पनि बताए।

निर्माणाधीन लामोसाँघु-जिरी सडकमा ओभरटेक गर्ने क्रममा यात्रुबस मोडमा खसेको प्रहरीको भनाइ छ। रिजर्भ गरिएको २ जना सीट क्षमताको यात्रुबसमा एक दुई जना मात्रै उभिएको र दुर्घटना पछि चालक फरार रहेको जानकारी छ।

प्रतिक्रिया