सीमा सुरक्षा चौकी हुम्ला खण्डअन्तर्गत सबै सीमा स्तम्भ पहिचान गर्ने कार्य सम्पन्न

admin

सिमकोट, २० साउन : उत्तरी चीन सँगको सिमाना हिल्सा नाकामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी) हुम्ला खण्डअन्तर्गत सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको छ ।

सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर स्थापना भएको चौकीले एक महिनामा सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको हो । गत असार ६ गते हुम्लाको हिल्सामा सीमा सुरक्षा चौकी स्थापना भएको थियो । 

चौकी स्थापना भएको छोटो अवधिमा तिब्बततर्फ मरुभूमि खण्डमा सीमा स्तम्भ पहिचान गर्ने कार्य सम्पन्न गर्न टोली सफल भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताएका छन् ।

चौकी स्थापना भएदेखि दैनिक रूपमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले पहिलो पटक सीमामा गस्ती सुरु गरेको थियो । हाल सबै स्तम्भ पहिचान गर्ने कार्य भएको उनले बताए ।

नेपाल र चीनको सीमाअन्तर्गत हुम्ला खण्डको २६२ दशमलव तीन किलोमिटर क्षेत्रमा कुल १५ वटा सीमा स्तम्भ रहेको बताउँदै प्रजिअ गिरीले पिल्लर नम्बर ११ मात्र नभेटिएको र अन्य सबैको पहिचान भएको बताए । कुल सीमा स्तम्भमध्ये १० वटा मुख्य र पाँचवटा सहायक पिल्लर हुम्ला खण्डमा छन् ।

प्रतिक्रिया