स्थानीय तहले सर्वसाधारणको मन जित्नुपर्छ : मुख्यमन्त्री पौडेल

राष्ट्रिय समाचार समिति

हेटौँडा, २५ भदौ: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहले सबै तहका सरकारको प्रतिनिधित्व गर्दै सर्वसाधारणकोे विश्वास जित्नुपर्ने बताउनुभएको छ । आज मकवानपुरको भीमफेदी गाउँपालिकाको कार्यालय भवनको शिलान्याश गर्दै मुख्यमन्त्री पौडेलले स्थानीय तह सफल भए समग्र सरकार सफल हुने र जनताको राज्यप्रति विश्वास बढ्ने धारणा राख्नुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकार ऐतिहासिक र चिरपरिचित थलोका रुपमा रहेको भीमफेदी बजारलाई विगतका झैँ चहलपहलयुक्त बनाउन योजना प्रस्तुत गर्न अनुरोध गर्नुभयो । उहाँले भीमफेदीलाई मकवानपुरका ऐतिहासिक र पर्यटकीय शहरका रुपमा विकास गरिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मकवानपुर जिल्लाका समन्वय समितिका प्रमुख रघुनाथ खुलालले ठेकेदारका कारण समयमा काम सम्पन्न गर्न नसकेर हैरान हुनुपरेकोे बताउँदै ठेकेदार कम्पनीलाई समयमा काम सक्न अनुरोध गर्नुभयो । उहाँले नवनिर्मित भवनका लागि आठ कठ्ठा १० धुर जग्गा उपलब्ध गराएको र समितिमा मौजाद रकम कोषबाट रु एक करोड उपलब्ध गराउने जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हिदम लामाले रु ११ करोडको लागतमा चारतले गाउँपालिका भवन निर्माण गरिएको बताउँदै काठको पोलमुक्त भीमफेदी र हरेक घर बिजुलीयुक्त बनाउने काम धमाधम भइरहेको बताउनुभयो । गाउँपालिकाले सामाजिक विकाससँगै आर्थिक विकासको काम पनि अघि बढाएको छ भन्नुभयो ।

प्रतिक्रिया