हाम्रो लडाइँ पद र कुर्सीको हानथापका लागि होइन

admin

काठमाडौं, १२ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरूको लडाइँ गलत विचारको विरुद्ध भएको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा प्रदेश नं. २ का नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै अध्यक्ष नेपालले आफूहरूको लडाइँ सही विचारका लागि गलत विचारको विरुद्ध रहेको बताएका हुन् ।

पार्टीभित्र पद र कुर्सीको हानाथाप भएको नभइ पार्टीलाई विचार, विधि, पद्धति र राम्रो कार्यशैलीमा अघि बढाउनका लागि र गलत विचारको विरुद्ध भएको उनको भनाइ छ । अध्यक्ष नेपालले प्रतिनिधि सभा भङ्ग हुने आधार नभएको बताए । प्रधानमन्त्री ओलीको चुनाव गराउने इच्छा नभएको भन्दै सङ्कटकाल लगाएर अथवा तानाशाह लादेर भए पनि सत्तामा बसिरहन चाहेको उनले जिकिर गरे ।

कार्यक्रममा बोल्दै नेकपाको प्रचण्ड-नेपालका वरिष्ठ नेता झलनाथ खनालले विगत तीन वर्षमा प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई गलत दिशातर्फ लाने दुस्प्रयास गरेको बताए । समाजवादी बाटो छोडेर भद्दा किसिमको पुँजीवादी उदारवाद अपनाएका कारण पार्टीमा प्रश्न उठ्दै गएको उनको भनाइ छ ।

ओलीले झापाको दमकमा अरबौँ अरब बजेट दिएको भए पनि देशभर जनअपेक्षाअनुसारको बजेट नदिएको उनले आरोप लगाए । वरिष्ठ नेता खनालले प्रतिनिधि सभा विघटन लोकतन्त्र, संविधान, सङ्घीयता, समावेशिता तथा गणतन्त्रमाथिको आक्रमण भएको पनि बताए । प्रधानमन्त्री ओलीले देशलाई प्रतिक्रान्तिको दिशातर्फ धकेल्ने कोसिस गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया