हावाबाट कोरोना संक्रमण नसर्ने भन्न नसकिने डब्लुएचओको भनाइ, पुष्टि भए के हुन्छ ?

अस्मिता बेल्बासे

एजेन्सी, २४ असार : एरोसोल भनिने हावामा रहने साना कणमार्फत् कोरोनाभाइरस फैलन सक्ने प्रमाण जुट्दै गरेको मंगलबार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले स्वीकारेको छ ।

यसअघि वैज्ञानिकहरूको एक समूहले डब्लुएचओलाई कोरोना संक्रमण रोकथामसम्बन्धी विद्यमान निर्देशिकामा सुधार गर्न अपिल गरेका थिए । उनीहरूले कोरोनाभाइरसको यो ताजा प्रमाणबारे पुन विचार गरेर निर्देशिकाहरू जारी गरिनुपर्ने उल्लेख गरेका थिए ।

सोमबार एक जर्नलमा प्रकाशित एक खुलापत्रमा ३२ देशका २३९ जना वैज्ञानिकले यो भाइरस हावामा तैरन सक्ने र सास लिँदा मानिसमा सर्नसक्ने उल्लेख गर्दै प्रमाण दिएका थिए ।

डब्लुएचओकी वरिष्ठ अधिकारी बेनेडेटा आलेग्रान्जीले भिड भएको स्थल, बन्द कोठा वा हावा ओहोरदोहोर गर्ने अवस्था नभएका ठाउँमा हावाबाट संक्रमण सर्दैन भन्न नसकिने बताएकी छिन् ।

यसको पक्का प्रमाण जुटाउन र बुझ्न अझै जरुरी छ । यो काम हामी जारी राख्छौँ, उनले भनिन् । 

पुष्टि भए के हुन्छ ?
यदि यो चेतावनी पुष्टि भएको खण्डमा कोरोनाभाइरस संक्रमण रोकथाम बारेका निर्देशिका परिवर्तन गर्नुपर्ने हुन्छ । त्यसमा मास्कको प्रयोग व्यापक गर्नुपर्ने तथा सार्वजनिक यातायात एवम् बारजस्ता भिड हुने स्थानमा सामाजिक दूरीको कडिकडाउ पालना गर्नुपर्ने हुन्छ ।

योभन्दा अघिसम्म विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस संक्रमित मानिसको नाक तथा मुखबाट निस्कने छिटाका माध्यमबाट फैलने बताएको थियो । उसले मानिसहरूबीच कम्तीमा ३.३ फिटको दूरी भएमा भाइरस संक्रमणको रोकथाम सम्भव हुने बताएको थियो ।

डब्लुएचओकी डा. मारिया केरखोबले आगामी दिनमा उसले नयाँ सन्देश जारी गर्ने बताइन् । उनले भनिन्, ‘कोरोनाभाइरसको संक्रमण रोक्नका निम्ति ठूलो स्तरमा रोकथामको आवश्यकता छ । यसमा भौतिक दूरीका साथै मास्कको प्रयोग तथा अन्य नियम पनि छन् ।’

यदि हावाका साना कणमार्फत् पनि संक्रमण फैलने पुष्टि भएमा यो दूरीको नियममा पनि परिवर्तन गर्नुपर्ने हुन्छ । सोमबार २३९ वैज्ञानिकले डब्लुएचओलाई हावाबाट संक्रमण सर्न सक्ने खतरालाई कम आँकेको भन्दै एक खुलापत्र लेखेका थिए ।

प्रतिक्रिया