हिमाली जिल्लाहरुमा यसपालि हिमपात नहुँदा किसान चिन्तित

राष्ट्रिय समाचार समिति

मनाङ, ११ माघ : यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी मरुभूमि जस्ता भएका छन् । हिउँले ढाकिएका जमिनमा रसिलो माटो अनि खेतबारीमा मल भिज्नाले बाली फस्टाउने यहाँका किसान बताउँछन् ।

‘सँधैजसो मंसिरको पहिलो हप्तादेखि हिउँ पर्न सुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन’, किसान याङ्डु गुरुङले भने । विगतमा मंसिर सुरु नहुँदै डाँडाकाँडा हिउँले सेताम्मे हुन्थ्यो । चारैतिर सेता हिमाल टल्किन्थे । केही वर्षयता भने हिउँ कम पर्न थालेको छ ।

यसपालि हिमपात नहुँदा सेता हिमाल कालापत्थरमा परिणत भएको छ । अन्नपूर्ण हिमशृङ्खलामा पर्ने हिमालमा अन्नपूर्ण दोस्रो, तेस्रो, चौथो, गङ्गापूर्ण, लमजुङ हिमाल छन् । अन्य ससाना चुचुरा छन् । हिमाली जिल्ला मनाङमा गएको वर्ष मङ्सिर पहिलो हप्ता भारी हिमपात भएको थियो । बाक्लो हिउँ परेकाले धेरै समयसम्म हिमाल सेता देखिएका थिए ।

यस वर्ष खासयाममा समेत हिमपात भएको छैन । हिमपातमा कमी आउन थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । पिसाङका रामबहादुर गुरुङ जाडो मौसममा पहिले जस्तो हिउँ पर्न छाडेको बताउँछन् । उनका अनुसार जाडो याममा हिउँले डाँडाहरू सबैतिर सेताम्मे देखिन्थ्यो, हिजोआज हिमालमा समेत हिउँ छैन, सेता हिमाल काला हुँदै गएका छन् ।

पहिले सात फिटसम्म हिउँ परे पनि हिजोआज एक फिट हिउँ पनि नपरेको रामबहादुर बताउँछन् । मनाङका अन्नपूर्ण, गङ्गापूर्ण, लमजुङलगायत हिमाल आधाभन्दा बढी भाग कालापत्थरमा रूपान्तरण भइसकेका छन् । हिउँ पर्न छाडेपछि यहाँको तापक्रमसमेत बढ्न थालेको छ । यहाँका हिमनदी पग्लने क्रम बढेको छ ।

मनाङको माथिल्लो क्षेत्रमा गएको पुस २१ मा केही मात्रामा हिमपात भए पनि तल्लो क्षेत्रमा भने अहिलेसम्म भएको छैन । हिमपात नहुँदा चिस्यान नहुने आलु, उवा र फापर छर्ने ठाउँमा जोत्नसमेत कठिन भएको चामे गाउँपालिका-२ कोतोका किसान विनोद लामाले बताए ।

उनका अनुसार गएको वर्ष मंसिर २८ देखि नै माथिल्लो र तल्लो क्षेत्रमा भारी हिमपात भएको थियो । ‘हिउँ परेमा खेती गर्न सहज हुन्छ । उत्पादन पनि बढ्छ । हिउँले गर्दा, स्याउ, आलु, गहुँ, फापरलगायत बालीलाई फाइदा पुग्छ । किसानले सिँचाइको छुट्टै व्यवस्था गर्नुपर्दैैन’, उनले भने  ।

हिउँ पर्न छाडेपछि जिल्लाका लेक र खर्कमा पाइने यार्सागुम्बा, नीरमसी, जटामसी, वनलसुन, कुट्कीलगायत बहुमूल्य जडीबुटी उत्पादनमा समेत कमी आउन थालेको छ । याममा परेको हिउँले बाली सप्रने भए पनि माघ लागिसक्दा समेत हिउँ नपर्दा किसान चिन्तित भएका हुन् ।

प्रतिक्रिया