१२ वर्ष देखि न्याय माग्दा माग्दै नओभाएका आँखा !

मनिषा थापा

पिएनपिखबर :  बम विस्फोटमा परेका घाइतेहरुलाई इटाभट्टामा जलाएर मारेको आरोपमा पूर्वमन्त्रीसमेत रहेका कांग्रेस सांसद आलमलाई प्रहरीले हिरासतमा राखेको छ। उनी पक्राउ परेपछि घटनाको सत्यतथ्य छानविन भईरहेको छ।

बम काण्डमा आफ्नो कान्छो छोरो त्रिलोक प्रताप सिंह गुमाएका यमुनामाइ गाउँपालिका वडा नं. ४ निवासी ७९ बर्षीय बाबु श्री नारायण सिंहको १२ वर्ष वितिसक्दा पनि आँखा अझै ओभाएको छैन। उनले न्यायको ढोका धेरै ढकढकाए तर न्याय पाएनन्।

पिएनपिखबर पनि घटनाको वास्तविकता जान्न पिडितको परिवार समक्ष पुगेको छ। कुराकानीमा घटनाबारे वृस्तृत रुपमा मृतक त्रिलोक प्रताप सिंहका बुबा श्री नारायण सिंहले यसरी सुनाए….

”१२ वर्ष अघिको कुरा हो। चैत्रको महिना चुनाबको माहोल थियो।  चैत्र १८ गतेको  दिन म खेतमा गहुँ काटेर घर फर्किए। छोरा घरमा नदेखेपछि श्रीमतीलाई सोधे। श्रीमतीले जवाफमा  चुनाबको प्रचारप्रसारमा छोरालाई लागिएको भनेर फर्काइन। म कांग्रेसको समर्थक पनि थिए। मेरो छोरा भारतमा पढेको र बोली र भाषणले सबैलाई आकर्षित पार्ने खालको भएर प्रसारमा लगेका थिए। चैत्र २७ गते बम पड्कियो। त्यो ठुलो आवाज घरसम्म सुनियो । भोलिपल्ट मैले घटना बारे थापाए। केहि व्यक्ति आएर भने तपाईको छोरा दुर्घटनामा परि मर्यो भनेकोले रुक्साना खातुनको घरमा रुवावासी चलिरहेको थियो। त्यहि आफ्नो छोरा मरेको खबर पाए। घरमा रुवावासी चल्यो। घटनास्थलमा जाँदा हामीलाई छिर्न पनि दिएनन्। बाटै-बाटो लखेटे। उल्टो मार्दिने धम्कि दिए। जिल्लामा जाँदा जाहेरी लिएँनन्। काठमाडौँ गयौ मानव अधिकार आयोगमा पहल गर्यौ। मानव अधिकारकर्मीहरु घटनास्थलमा गए तर दबाबको कारण राम्ररी छानविन गर्न पाएनन्। घटनास्थलमा बम पड्काएको प्रमाण सबै नष्ट गरिएको थियो। आजसम्म पनि आलमका मान्छेहरु घटना घटेको छैन भनिरहेका छन्।”

पैसाको प्रलोभन देखाउदै धेरै मानिस आएका तर छोराको न्यायको लागि आफु पैसामा नविक्ने उनी बताउछन्। अभियुक्तलाई आजीवन काराबास होस् भन्ने चाहान्छन श्री नारायण सिंह।

२०६४ चैत २७ गते सविधान सभाको अघिल्लो दिन भएको बम बिष्फोटमा सामान्य घाइते भएका त्रिलोक प्रताप सिंहलाई जिउँदै भट्टामा हालेर मारेको पिडित पक्ष बताउदै आएका छन्। आलमका काका नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री शेख इद्रिसको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो । आलम त्यतिबेला रौतहट(२ मा कांग्रेसको तर्फबाट उम्मेद्वार थिए।

रौतहटको राजपुर–४ खरहवामा भएको सो विस्फोटनमा घाइते भएपछि जलाइएका दुईजना नेपाली युवाहरु त्रिलोकप्रताप सिंहका बाबु र कौशी अख्तर मियाकी आमाले आलममाथि कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । तर, प्रहरीले आलमबिरुद्ध जाहेरी लिन नमानेपछि मृतकका अविभावकहरुले दोषीमाथिको जाहेरी निवेदन लिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।

सो रिटमाथि सुनुवाई गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले १६ जेठ २०६९ मा दोषी आरोपित आलमसहित ५ जनालाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । अदालतको आदेश पछि पनि आलमलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन ।

१२ वर्ष पछि उनी अहिले पक्राउ परेका छन्। जिल्ला अदालतले रौतहटले बम विस्फोटका घाइतेहरूलाई हत्या गरेको आरोपमा पक्राउ परेका उनीमाथि अनुसन्धान गर्न म्याद दिएको छ ।
आलम काँग्रेसका पूर्व जिल्ला सभापति र वनमन्त्री पनि हुन् ।

 

प्रतिक्रिया