४८ वर्ष पुरानो आमाको बारा पसलमा जाँदा देखियो यस्तो सम्मको दृश्य [भिडियोसहित]

पूजा बानियाँ

पिएनपीखबर, भक्तपुर। भक्तपुरको पाँचतले मन्दिरबाट साकोठा जाने गल्लिमा एक आमाको बारा पसल छ। यो पसल ४८ वर्ष पुरानो पसल हो। पसलको पहिलेको र अहिलेको मालिक हुन्, ७२ वर्षिया आमा बिकुमाया बज्राचार्य।

सत्तलजस्तो लाग्ने घरको सानो ढोकाछेउमै चुलो छ। भुइँमा माटोले बनाएको चुलो भए पनि यसमा ग्यास सिलिन्डरमा जडिएको छ। चुलोछेउ पलेँटी कसेर बस्छिन्, उनी। उनी मास र मुंगको लेदो तावामा हाल्छिन्, पाक्दै गरेको बारा वल्टाइपल्टाई गर्न धेरैजसो उनको हातमा पन्यू नाचिरहेको हुन्छ।

सुरुमा अन्य परिकारमात्र बिक्री हुने उनको पसलमा कसैले आएर बारा बनाइ बेच्न दिएको सल्लाहले बि. स. २०३३ सालदेखि पसलमा बारा बनाउन सुरु भयो । सुरुवाती दिनमा सिलौटामा पिस्दै २-३ माना मासबाट बारा बनाउन सुरु भएको यो पसलमा अहिले दिनमै कयौं किलो दालको बारा बन्ने गरेको छ ।

ऊबेला मासको दाललाई सिलौटामा पिसेर बारा पकाउँथिन्। समय फेरिएको छ, बाराको लागि मास पिस्न बिहान चारै बजे उठेर सिलौटो र लोरो लिएर बस्ने यि आमालाई अहिले त्यो झन्झट छैन ।

बेलुका नै भिजाएर राखेको मास र मुंगको दालको बोक्रा फालेर बिकुकुमारीकी बुहारी संगीताले ग्राइन्डरमा पिस्छिन्। अनि पाक्छ, तीन थरीको बारा – मास र मुंगको दाल मिसाएको सादा बारा, त्यसमाथि अन्डा राखेर अन्डा बारा र किमाको प्रयोग गरिएको मासु बारा।

स्वादका लागि नुन र केही मसला पनि दालमा हालिन्छ। त्यस पछि तयार हुन्छ २० देखि एक सय रुपैयाँसम्मको थरि थरीको बारा, जसलाई केराउ-चनाको सुपसँग दिईन्छ ।

कसैको शरीरमा केही घाउ वा चोटपटक लागेको भए मासको बारा नखान बिकुकुमारी सुझाव दिन्छिन्। ‘मासले घाउ पाक्ने भएकाले यो नखानु नै राम्रो हुन्छ,’ उनी विकल्प दिन्छिन्, ‘मास खान नहुनेका लागि मुंगको बारा छँदै छ नि।’ चुलो वरिपरि नै खाने टेबल भएकाले ग्राहकको सन्तुष्टि र असन्तुष्टि पनि बुझिरहेकी हुन्छिन् उनी।

उनको घरमा धेरै सन्तान थिए। तिन छोरी तिन छोरा। सन्तान धेरै भएकै कारण उनलाई आफन्तजनले कसरि पाल्छेस सन्तान, के खान दिन्छेस भन्ने गर्थे। छोराछोरीलाई खान दुख नहोस भनेर पनि उनलाई उनको आमाले खानेकुराको पसल संचालन गर्न सलाह दिएकि हुन्।

आज उनको सन्तान ठुला भैसकेका छन्। आमालाई सम्मान गर्छन्। नम्र स्वभावका उनका सन्तानले उनलाई अहिले सम्म निकै माया गर्छन्। दुख गरेर हुर्काएकि उनले आफ्नो सन्तानलाई बैंकर देखि ठुला व्यवसायी बनाएकी छिन्।

अहिले उनको छोराछोरीले पसल संचालन नगरी आराम गरेर बस्न भन्छन्। तर उनी आफै सकुन्जेल त गर्छु भनेर लागिपरेकी छिन्। उनलाई उनको घरका परिवारले पनि काममा सघाउछन् अचेल। उनको दिनचर्या पसलमा नै बित्छ।

बसिरहनु भन्दा केहि काम गर्दा स्वास्थ्य पनि राम्रो हुने, शरीर तंग्रिने भएकोले उनी काम गर्न नै रुचाउछिन्। उनी भन्छिन् ,’ज्यानले सके सम्म मा यो काम गरि नै रहन्छु।’

बाँकी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू