भक्तपुरमा एक सातादेखि १८ बर्षीय युवती बेपत्ता; मामाले अपहरण गरेको पिडित परिवारको दावी [भिडियो]

मनिषा थापा

भक्तपुर: सूर्यविनायक नगरपालिका वडा नम्वर ८ सिपाडोलकी एक युवती एक हप्ता देखि वेपत्ता भएकी छन् । स्थानीय माधव थापाकी १८ वर्षीया छोरी उषा कार्तिक ५ गतेदेखि हराएकी हुन् ।

कार्तिक ५ गते देखि वेपत्ता रहेकी उनको अपहरणको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका वडा नम्वर ९ का ईश्वर खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ । उषाको पिता थापाले कार्तिक ५ गते घरमा कोही नभएको मौका छोपी घरबाट निस्किएकी छोरी उषाको अहिलेसम्म अत्तोपत्तो नभएको जानकारी दिए।


महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा छोरी हराएको भोलिपल्टै जानकारी दिँदा पनि छोरीको अवस्था थाहा नभएको उनले बताए। उनले आफ्नो साला नाता पर्ने भक्तपुरकै चाँगुनारायण नगरपालिका ९ ताथलीका ईश्वर खड्काले छोरी उषालाई अपहरण गरेको भन्दै वृत्तमा किटानी जाहेरीसमेत दिएका छन् । उनको किटानी जाहेरीको आधारमा वृत्तले खड्कालाई हिरासतमा राखेको छ।

खड्का सत्तारुढ नेकपा (एमालेका) स्थानीय नेता हुन् । उनी तत्कालीन एमालेको खेलकुद महासंघको भक्तपुर सचिवसमेत हुन् । त्यस्तै उनी नेपाल रेडक्रस सोसाइटी ताथली उपशाखाका सभापति पनि रहेका छन् ।

उनलाई जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरी अनुसन्धान गरिरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए। उषा र खड्काबीच फेसबुक मेसेन्जरमा कुराकानी भएको आधारमा प्रहरीले खड्कामाथि अपहरण नभई साइबर क्राइमअन्तर्गत मुद्दा चलाएको उनले बताए।

फेसबुक मेसेन्जरको च्याटिङमा नाताले मामा भाञ्जी भए पनि अश्लीलभन्दा पनि अश्लील शब्द प्रयोग अन्तरंग कुराकानी भएको पाइएको प्रनाउ शर्माले बताए।
उक्त च्याटिङमा खड्काले उषालाई पटकपटक पैसा दिएको, मोबाइल रिचार्ज गर्न पिन नम्बर पठाएकोसमेत उल्लेख रहेको वृत्तले जनाएको छ।

उषाका बुबा माधवले उक्त च्याटिङको आधारमै खड्काले नै आफ्नो छोरी अपहरण गराएको आरोप लगाएका छन्। उनले आफू भक्तपुरमै बसेर उषालाई अरु केटा लगाएर अपहरण गराएको दाबी गरे।

‘ईश्वर खड्काले नै मेरी उषालाई अपहरण गराएको हाम्रो आशंका छ’, बुबा थापाले भने, ‘नत्र हराएको एक हप्ता हुँदा पनि छोरी किन फेला परिनन्।’

प्रहरीले भने उनको आरोप स्वीकार गर्न सकेको छैन। प्रहरीले उषा हराएपछि उनको कोठामा खानतलासी गर्दा दुई फरकफरक चिठ्ठी बरामद गरेको छ। उक्त चिट्ठीमा मामा (ईश्वर खड्का) को कुनै दोष छैन भनी लेखिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए।

‘उषाले लेखेको चिठ्ठीमा मामाको दोष छैन भनेको छ। बरु अरु दुई केटाको नाम उल्लेख भएको छ’, उनले भने, ‘दुई केटामध्ये एकजना वैदेशिक रोजगारीको सिलसिलामा विदेश छन्। अर्को केटाको पहिचान हुन सकेको छैन।’

प्रहरीले हराइरहेकी उषाको नयाँ फेसबुक अकाउन्ट भने पहिचान गरिसकेको छ। उक्त अकाउन्टबाट उषाले सिपाडोलकै आफ्नी एक साथीलाई आफू ओखलढुंगा रहेको जानकारी दिएको प्रहरीले बताए। जगाती वृत्तका प्रमुख प्रनाउ शर्माले उषाले ओखलढुंगा प्रहरीसँग समन्वय गरेर त्यहाँ पनि खोजतलास तीव्र बनाइएको बताए।

‘भाग्छु भनेरै योजनाबद्ध तरिकाले घरबाट निस्केकी उषा त्यहाँ पनि भेटिन्छ भन्ने ग्यारेन्टी छैन’, उनले भने, ‘जे भए पनि उषा फेला नपरेसम्म घटनाको यथार्थ यहीं हो भन्न सक्ने अवस्था छैन।’

सिपाडोलकै शान्ति निकेतन माविमा कक्षा ९ पढ्दै गरेकी उषा कार्तिक ५ गते घरमा कोही नभएको मौका छोपी चिठ्ठी लेखेर हराएकी हुन्। साथै उनले आफूले प्रयोग गर्दै आएको मोबाइलसमेत घरमै छाडेकी थिइन्। घरमा छोडेको मोबाइलको फेसबुक अकाउन्ट खोल्ने क्रममा मामा नाता पर्ने ईश्वर खड्कासँग मेसेन्जरमा भएको च्याटिङ सार्वजनिक भएको हो।

सोही च्याटिङको आधारमा खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। खड्काले पनि उषा हराएकोबारे आफूलाई कुनै जानकारी नभएको बताएको प्रहरीले जनाएको छ।

यता उषाको बाबुले सत्तारुढ नेकपा (नेकपा) स्थानीय सांसददेखि नेता, मेयरलगायत खड्कालाई जोगाउन प्रहरीलाई दबाब दिन थालेको आरोप लगाएका छन्। दबाबकै कारण आफूले अपहरणको मुद्दा राख्न खोज्दा पनि जगाती प्रहरीले साइबर क्राइममात्रै आकर्षित हुने गरी मुद्धा दर्ता गरेको उषाका बुबा माधवले आरोप लगाए।

‘हामीले छोरी अपहरण भएको भनेर भन्दा पनि प्रहरीले साइबर क्राइम मुद्धामात्रै दर्ता गर्यो’, उनले भने, ‘तपाईले निर्मला पन्त बलात्कार हत्याकाण्ड जस्तै छोरी अपहरण मुद्धालाई अन्तै मोड्न लाग्नुभयो कि भन्दा उल्टै प्रहरीले बढी जान्ने नहुनु भन्ने धम्कीपूर्ण भाषा बोले।’

उनले सत्तामा रहेका सांसद, नेता र मेयरलगायतको दबाबमा आएर प्रहरीले आफ्नो छोरीको अपहरण घटना अन्यत्रै मोड्न खोजेको आरोप लगाइन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू