कार्टुन क्रुको सरोज देखि राता मकैसम्मको ट्याटु खोपिसकेका यी नेपाली ट्याटुमास्टर [भिडियो]

admin

काठमाडौँ: नेपाली सन्दर्भमा ट्याटु नयाँ विषय होइन। परम्परागत मान्यता र धार्मिक विश्वासका आधारमा शरीरका विभिन्न भागमा ट्याटु खोप्ने नेपाली प्रचलन पुरानै हो। केही वर्षयता भने युवापुस्तामा ट्याटु मोह तीव्र रूपमा बढेको छ र यसले व्यावसायिक रूप लिइरहेको छ। विभिन्न ‘थिम’मा ट्याटु खोप्ने युवाको संख्या बढिरहेको छ ।

नेपालमा ट्याटु संस्कृति कहिलेदेखि सुरु भयो भन्ने यकिन मिति त छैन, तर ट्याटु खोप्ने संस्कृतिलाई परम्परागत समयमा मानिसको जीवनशैलीसँग जोडिएको पाइन्छ । नेवारी, गुरुङ, थारु तथा मगर समुदायले नेपालमा लामो समयदेखि नै ट्याटु खोप्ने प्रचलन थियो। नेपालमा पनि मच्छिन्द्रजाजा, इन्द्रजात्रा आदि परम्परागत चाडपर्व झल्काउने ट्याटु खोपिने गरेको बताइन्छ।


नेवारी महिलाको खुट्टामा खोपिएको ट्याटुले शक्तिलाई संकेत गर्छ भने सानै उमेरमा ट्याटु खोप्दा दुःखकष्ट तथा शत्रुबाट बच्न सकिने विश्वास छ। परम्परागत रूपमा ट्याटु खोप्नेहरु आफू मरेर जाँदा ट्याटु पनि सँगसँगै जाने विश्वास गर्छन्। तराईका आदिवासी समुदायमा पनि ट्याटु खोप्ने पुरानो प्रचलन छ।

अहिलेका युवाले भने ट्याटुलाई फेसनको रूपमा लिएको पाइन्छ। उनीहरू धर्म–संस्कृति भन्दा पनि विभिन्न ‘थिम’ मा ट्याटु खोप्छन्। भगवानका आकृति शरीरमा खोप्ने युवाको संख्या पनि निकै हुने गरेको छ।

सातदोबाटोमा सञ्चालित युजेस ट्याटु इङ्कका संचालक युजेस देउला पनि ट्याटुमा नयाँ ‘ट्रेन्ड’ आइरहेको बताउँछन्। नेपालमा ट्याटु खोप्ने परम्परामा बदलाव आएको उनी बताउँछन्। पहिले–पहिले ट्याटुका पारखीहरुले देवीदेवताका ट्याटु खोप्ने गरेकोमा अहिलेका युवा भने प्रकृतिप्रेमी भएको उनको अनुभव छ। उनीकहाँ ट्याटु खोपाउन दैनिक ५/६ जना युवा आइपुग्छन्।

उनको ट्याटु सेन्टरमा नेपालीबाहेक विदेशी ग्राहक पनि उत्तिकै आउने गरेका छन्। थ्रीडी ट्याटु अहिले निकै चलेको छ। राजधानीबाहिरका मुख्य सहरहरू धरान, विराटनगर, पोखरा, नारायणगढ, वीरगन्ज आदिमा पनि ट्याटुको व्यावसायिक विकास भइरहेको छ।

पहिले ट्याटु खोप्ने व्यक्तिलाई नराम्रो नजरले हेरिने गरे पनि अहिले भने समाजका प्रतिष्ठित व्यक्तिहरुले पनि ट्याटु खोपेको देख्दा खुसी लागेको उनले बताए। आफ्नो शरीरलाई सुहाउने ट्याटु खोप्दा सुन्दरता अझ थपिने उनको भनाई रहेको छ। ट्याटु खोप्ने मानिसलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएकाले यसमा धेरैको चासो बढेको उनको भनाइ छ।

उनको ट्याटु इङ्कमा सामान्य व्यक्ति देखि ठुलाठुला सेलिब्रेटीहरु समेत विभिन्न आकर्षक ट्याटु खोप्नन आउने गरेका छन्। उनले ट्याटु इङ्क संचालन गरेको निकै लामो समय भइसकेको छ। यो अन्तरालमा उनले राता मकै, कार्टून क्रुका सरोज र सबिन साथै थुप्रै चर्चित व्यक्तित्वको शरीरमा ट्याटु खोपिसकेका छन्।

युजेस देउलासँगै विकाश पौडेल पनि अहिले युजेस ट्याटु इङ्कमा काम गर्छन्। बिकाशले आफ्नै जिउको पुरै भाग ट्याटुले छोपिएको छ। पेटमा पाटन दरबारको ट्याटु अनि जिउमा नेपालीपन झल्काउने नेवारी गल्लीको ट्याटु खोपेका छन्। उनलाई शुरुवातमा घरबाट नकारात्मक टिकाटिप्पणी गर्नेको कमि थिएन। तर अचेल सबैको साथ सहयोग पाएर उनी आफ्नो काममा झन् हौसिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू