म्याग्दी, ३ मङ्सिर : म्याग्दीको धवलागिरि गाउँपालिका– ६ मराङको बुलमा सामुदायिक स्वास्थ्य एकाइ स्थापनाका लागि भवन निर्माण भएको छ ।
भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित बुलका बासिन्दालाई सहजरुपमा गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउन पूर्वाधार तयार पारिएको हो । गुड नेवर्स इन्टरनेशनलको सहयोगमा कदम र सङ्गम म्याग्दीद्वारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाको सहयोगमा बुलका बासिन्दाले श्रमदान गरेर भवन निर्माण गरेका हुन् ।
कदम म्याग्दीमार्फत प्राप्त रु नौ लाख ३३ हजार र स्थानीयवासीको रु एक लाख ४७ हजार बराबरको श्रमदानमा एक कोठे पक्की भवन निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष नरबहादुर जुक्जालीले जानकारी दिनुभयो ।
भवन तयार भएपछि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनका लागि गाउँपालिकामा माग गरिएको उहाँले बताउनुभयो । एकाइ सञ्चालन भएमा बुल र मलम्बार गाउँका १५० घरधुरी लाभान्वित हुने जनाइएको छ ।
बुल र मलम्पारका बासिन्दा सामान्य बिरामी पर्दासमेत दुई घण्टाभन्दा बढी समय लगाएर मराङ र मल्कवाङस्थित स्वास्थ्य संस्थामा पुग्न बाध्य छन् । ज्येष्ठ नागरिक, अशक्त, बालबालिका र गर्भवती महिलालाई स्वास्थ्य संस्था टाढा हुँदा सहजरुपमा आधारभूत स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् ।
स्वास्थ्य संस्थामा उपचारका लागि जाँदा कतिपयलाई पूरै दिन लाग्ने गरेको छ । भिर, जङ्गल र खोल्साको बाटो हिँड्नुपर्दा जोखिम रहेको बुलकी महिला स्वास्थ्य स्वमसेविका लक्ष्मी केसीले बताउनुभयो ।
बुल र मलम्पराका बासिन्दालाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सामुदायिक स्वास्थ्य एकाइ स्थापनाका लागि पहल गरिएको धवलागिरि गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजकसमेत रहनुभएका वडा नं ६ का अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । रासस