“गोपी” फिल्मको पहिलो गीत “लक्ष्मी कहिले काली सार्वजनिक[भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, ६ मङ्सिर  :  “गोपी” फिल्मको पहिलो गीत “लक्ष्मी कहिले काली” बुधबार रिलिज भएको छ । साहित्यकार बुद्धिसागरको शब्द रचना रहेको गीतलाई संगीतकार अर्जुन पोखरेलले आफ्ना पिता बाबुराम पोखरेलसँग मिलेर कम्पोज गरेका हुन् । भजन शैलीको गीत भएकोले अर्जुनले भजनगायक पिताको सहयोग लिएका हुन् ।

बजारमा चलिरहेका भन्दा फरक गीत बनेकोले दर्शकश्रोताबाट सकारात्मक प्रतिक्रिया पाउनेमा संगीतकार पोखरेल आशावादी छन् । लोकगीतको लहर चलेको छ, यस्तो बेला मौलिक गीत तयार पार्न पक्कै सजिलो छैन, तर यो गीत भाका, शब्द र वाद्यवादनका हिसाबले परिपक्व बनेको छ,पोखरेलले भने । गीतलाई ध्रुव बिस्को र एन्जिला रेग्मीले गाएका छन् भने एरेन्जमेन्ट आशीष अविरलको छ ।

आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीद्वारा निर्मित तथा दीपेन्द्र लामाद्वारा निर्देशित गोपी नेपालभर माघ १८ गते प्रदर्शनमा आउँदैछ । फिल्मको कथाकै माग अनुसार गीत तयार पारिएको निर्देशक लामा बताउँछन् । उनले थपे, फिल्मका मुख्य पात्र हिन्दु र गाई पाल्ने भएकाले गीतमा उक्त आस्था झल्काउने प्रयास गरेका छौं ।

बुधबार रिलिज भएको गीतमा फिल्मका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, अंकित खड्का, भोला सापकोटा लगायतले नृत्य गरेका छन् । वरिष्ठ नृत्यनिर्देशक गोविन्द राईले यही गीतमार्फत् लामो समयपछि औपचारिक रूपमा कोरियोग्राफीमा कमब्याक गरेका छन् । गीतमा राईले तीनवटा भजनटोली, सयजना भन्दा बढी वृद्धवृद्धा र ३२ जना नृत्य कलाकारलाई समावेश गरेका छन् ।

सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा शैलेन्द्र डि कार्कीले छायांकन र निमेष श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । फिल्ममा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतम लगायतको पनि अभिनय हेर्न पाइनेछ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया