भिमाद महोत्सव सम्पन्न

admin

दमौली, १० मङ्सिर: तनहुँ उद्योग वाणिज्य सङ्घ भिमाद बजार इकाईको आयोजनामा भिमाद बजारमा सञ्चालित दोस्रो भिमाद महोत्सव सम्पन्न भएको छ । गत कात्तिक २९ गतेदेखि शुरु भएको महोत्सव निर्धारित समय अगावै सम्पन्न भएको हो ।

महोत्सवको समापन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले कला र संस्कृतिमा धनी, कृषि उत्पादनमा उपयुक्त जमीन र पर्यटनका लागि प्रशस्त सम्भावना भएको भिमाद क्षेत्रको विकासका लागि प्रदेश सरकार स्थानीय सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनुभयो ।

प्रदेशसभा सदस्य दोबटे विकले महोत्सवको आम्दानी यस क्षेत्रको विकासमा खर्च गर्नुपर्ने धारणा राख्नुभयो । महोत्सव मूल समारोह समितिका संयोजक चतुर्भुज सुवेदीले महोत्सव सोचेअनुसार नै सफल भएको छ भन्नुभयो । भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापा, उपप्रमुख शारदा खनाल, हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरलगायतले महोत्सवले स्थानीय उत्पादनको बजारीकरणका साथै कला संस्कृतिको संरक्षण गर्न सहयोग पुगेको बताउनुभयो ।
-रासस

प्रतिक्रिया