प्रहरी चौकीको स्तर वृद्धि गरिने: प्रहरी महानिरीक्षक खनाल

admin

दमौली, १० मङ्सिर: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बन्दीपुर गाउँपालिकास्थित प्रहरी चौकीको स्तरवृद्धि गरिने प्रतिबद्धता जनाउनुभएको छ । चौकीको निरीक्षण गर्दै आज महानिरीक्षक खनालले ‘ख’ श्रेणीको उक्त चौकीलाई स्तरवृृद्धि गर्ने प्रतिबद्धता जनाउनुभएको हो । नेपालकै पर्यटकीय गन्तव्यका रुपमा रहेको बन्दीपुरको सुरक्षा अवस्था मजबुद बनाउनुपर्ने महानिरीक्षक खनालको भनाइ थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बन्दीपुर चौकीको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

वार्षिक एक लाखभन्दा बढी विदेशी तथा स्वदेशी पर्यटक आउने बन्दीपुरमा सुरक्षा अवस्था संवेदनशील रहेको भन्दै प्रहरी चौकीको स्तरवृद्धि गर्न बन्दीपुर गाउँपालिकाले समेत माग गरेको थियो । विसं २०७२ को भूकम्पका कारण प्रहरी चौकी भवनमा क्षति पुगेको थियो । गाउँपालिकाले उक्त भवन भत्काई नयाँ आधुनिक पर्यटकमैत्री, अपाङ्गमैत्री, भूकम्प प्रतिरोधी भवन निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्न महानिरीक्षक खनालसमक्ष माग गरेको थियो ।
-रासस

प्रतिक्रिया