सङ्कटाद्वारा पुलिस क्लब पराजित

admin

काठमाडौँ, १८ मङ्सिर: नेपाल पुलिस क्लबलाई पराजित गर्दै सङ्कटा क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आज एन्फा मैदान सातदोबाटोमा भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सङ्कटा अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

पुलिस क्लबविरुद्ध खेलको २९आँै मिनेटमा लक्ष्मण रुचालको कर्नरमा सरोज दाहालले हेडमार्फत गोल गर्दै सङ्कटालाई शुरुआती अग्रता दिलाए । खेलको ३७औँ मिनेटमा दिपेश आलेमगरले गोल गरेपछि सङ्कटाले २–० को अग्रता बनायो । तर, खेलको ३९औँ मिनेटमा रवी पासवानले गोल गर्दै पुलिस क्लबलाई २–१ को स्थितिमा ल्याए ।

पहिलो हाफमा २–१ गोलमा सकिएको खेलमा दोस्रो हाफमा कुनै गोल हुन सकेन र सङ्कटाले खेल आफ्नो पक्षमा पा¥यो । खेलमा सङ्कटाका सरोज दाहाल म्यान अफ दि म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे । सङ्कटाको यो पाँचौ जित हो । जितसँगै सङ्कटाले छ खेलबाट १५ अङ्क जोड्दै शीर्ष स्थानको मनाङ मस्र्याङ्दीसँग अङ्क बराबर गरेको छ । मनाङले भने पाँच खेल मात्र खेलेको छ । लिगमा १० अङ्क जोडेको पुलिस क्लब पाँचौ स्थानमा छ ।

छैटौँ चरणका खेलअन्तर्गत बुधबार तीन खेल हुनेछन् । पहिलो खेल मनाङमस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच, दोस्रो च्यासल युथ क्लब र हिमालयन शेर्पाबीच तथा थ्रीस्टार र सरस्वती युथ क्लबबीच तेस्रो खेल हुनेछ ।
-रासस

प्रतिक्रिया