‘घेरो’ले पोखरेली मन लोभ्याउँदै

admin

पोखरा, २५ मङ्सिर: पोखरा थिएटरमा मङ्सिर २१ गतेदेखि मञ्चन भइरहेको नाटक ‘घेरोे’ले पोखरेलीलाई लोभ्याएको छ । मङ्सिर २९ गतेसम्म चल्ने यो नाटकले नेपाली समाजमा अन्धविश्वासले पारेको प्रभावलाई देखाउन खोजिएको छ । घरको दैलामा चामलको घेरो देखियो भने अनिष्ट हुने नेपाली अन्धविश्वासलाई नाटकमा रोचक ढङ्गले प्रस्तुत गरिएको छ । नाटकले सामाजिक अन्धविश्वास र रुढीवादीपनलाई व्यङ्ग्य गर्नुका साथै धार्मिक लोक परम्परालाई समेत आत्मसात गरेको छ ।

हिन्दू धार्मिक मान्यता, परम्परालाई समेटेको नाटकमा माइतीबाट फर्केका दम्पती घर पुगेर दैलो खोल्ने बित्तिकै चामलको घेरो देखिन्छ । त्यही चामलको घेरोमाथि समाजको रुढीवादी नजर र अन्धविश्वासलाई ‘घेरो’ले देखाउन खोजेको छ । युथ क्रियसन थिएटरको छैँटौँ प्रस्तुति यस नाटकको प्रारम्भमा नै बालनको शैलीमा भजनमार्फत गरिएको कथा वाचनले दर्शकलाई रोमाञ्चित बनाउँछ । नाटकमा कलाकार लक्ष्मण डुम्रे र अनिका सापकोटा प्रमुख दम्पतीको भूमिकामा छन् भने ममता मञ्जुल, केदार पौडेल, सञ्जय न्यौपाने, अञ्जना पौडेल, प्रसुनलगायतको जीवन्त अभिनय छ । त्यस्तै मधुसुदन पौडेल, ताराखर पौडेल र विनोद पौडेल भजनमार्फत देखिनुभएको छ ।

केदार पौडेलद्वारा लिखित नाटकमा पौडेल स्वयंले कहिले भैँसी त कहिले झाँक्रीको अभिनय गर्नुभएको छ । युथ क्रियसन थिएटरका अध्यक्ष कपिल शर्माको निर्देशकीय भूमिका रहेको नाटकको भजन मधुसुधन पौडेलले लेख्नुभएको हो । अध्यक्ष शर्माले घेरो युथ क्रियसन थिएटरको छैँटौँ प्रस्तुति भएको जानकारी दिनुभयो । प्रत्येक साँझ ५.०० बजे मञ्चन भइरहेको नाटक शनिबार १.०० बजे पनि मञ्चन हुने व्यवस्थापक सौगात पोखरेलले जानकारी दिनुभयो । नाटक घेरो थिएटरको अहिलेसम्मको प्रस्तुतिभन्दा भन्दा फरक भएकाले यसले नाट्यप्रेमी पोखरेलीको मन जितेको उहाँको भनाइ छ । नाटकमा रुढीग्रस्त समाजलाई देखाउनमात्रै नखोजिएको बताउँदै पोखरेलले समाजका विभिन्न आयामलाई पनि प्रस्तुत गरिएको उल्लेख गर्नुभयो ।
-रासस

प्रतिक्रिया