७ महिनाअघि पोखराको भीरमा मृतक भेटिएकी महिला अहिलेसम्म अनलाइन, जाँचमा प्रहरीकै होस उड्यो

रिता घिसिंग

पोखरा : ७ महिनाअघि पोखरामा शव भेटिएकी एक महिलाको हत्याको सनसनीपूर्ण खुलासा भारतीय प्रहरीले गरेको छ । उत्तर प्रदेशको गोरखपुर प्रहरीले यहाँका चर्चित डाक्टर डीपी सिंहलाई उनकी पूर्वपत्नी राखी श्रीवास्तवको हत्याको आरोपमा पक्राउ गरेको छ । पोखरामा ७ महिनाअघि शव भेटिएकी महिला उनै राखी भएको खुलेको छ । सोधपुछमा ती डाक्टरले ७ महिनाअघि राखीलाई नेपालमा पोखरा ल्याएर पहाडभाट भीरबाट धकेलिदिएर मारेको स्वीकार गरेका छन् । यतिमात्र होइन उनले पुलिसलाई भ्रममा पार्नको लागि ७ महिनादेखि उनको सामाजिक संजाललाई निरन्तर अपडेट गरिरहेका थिए ।

आरोपी डा. सिंहका अनुसार उनले यसअघि पनि राखीलाई मार्ने प्रयास गरेका थिए । यसअघि ५ पटक उनलाई मार्न असफल भएका डा. सिंहले छैटौं पटकको प्रयासमा मारेका थिए । डा. सिंहका अनुसार राखी उनलाई ब्ल्याकमेल गरिरहन्थिन् जसबाट उनी हैरान भइसकेका थिए । उनले हत्यापछि लामो समयसम्म राखीका परिवारलाई भ्रममा पारेका थिए । उनीहरुले राखीको बारेमा सोध्दा डा. सिंहले उनीहरुको कुरा टार्थे । राखी बेपत्ता भएको उजुरी परेपछि मात्र घटनाको खुलासा भएको हो ।

सुरुवातमा गोरखपुर पुलिसले राखीका अर्का पति मनीष सिन्हालाई हिरासतमा लिएर अनुसन्धान सुरु गरेको थियो । तर, पुलिसले केही पत्ता लगाउन नसकेपछि यो केस एसटिएफलाई दिइएको थियो । एसटिएफले राखीका अर्का पति डीपी सिंहलाई पक्राउ गरेपछि रहस्य खुलेको हो । एसटिएफका अनुसार राखी हराएको बेला उनको मोवाइलको लोकेशन नेपालमा थियो । एसटिएफले नेपाल प्रहरीसँग जानकारी माग्दा ८ जूनमा यहाँ एक युवतीको लाश भेटिएको खुल्यो । युवतीको शवबारे थप जानकारी खोज्दै जाँदा उनी राखी भएको पुष्टि भएको थियो ।

राखी त्यतिबेला आफ्ना पति मनिष सिन्हासँग विमानमा नेपाल आएकी थिइन् । त्यसपछि उनी नेपालमै बसिन् र मनिष फर्किए । त्यही क्रममा राखीसँग कुराकानीपछि डा. डीपी सिंह पनि आफ्ना २ कर्मचारीसँग नेपाल आए । राखीलाई लिएर यी तीनैजना पोखरा गए । जहाँ उनीहरुले मदिरामा नशाको औषधी मिलाएर पहाडमा लिएर गइ भीरबाट धकेलेर हत्या गरे ।

अनुसन्धानमा खुलेअनुसार डा. सिंह पहिल्यै विवाहित थिए । उनले आफ्नी पत्नी उषालाई नभनी राखीसँग दोस्रो विवाह गरेका थिए । पछि पहिली पत्नी उषाले यसबारे थाहा पाइन् । विवाद भएपछि डाक्टरले राखीसँग सम्बन्ध तोडे र टाढा हुन थाले । राखीले पनि २०१६ मा मनीष सिन्हासँग दोस्रो विवाह गरिन् । तर, त्यसपछि फेरि डाक्टर राखीसँग नजिकिन खोजेपछि राखीले डाक्टरलाई ब्ल्याकमेल गर्न थालिन् । यही ब्ल्याकमेलका कारण डाक्टरले उनको हत्या गरेका थिए ।

प्रतिक्रिया