यमनी युद्धविराम पश्चात् १० जना सरकारी सेना मारिए

रिता घिसिंग

दुबई, ११ पुस : संयुक्त राष्ट्रसङ्घको अगुवाईमा भएको यमन युद्धविराम पश्चात् पनि १० जना सरकारी सेना मारिएको र एकसय ४३ जना घाइते भएको साउदी गठबन्धनका एकजना वरिष्ट अधिकारीले बताएका छन् ।

डिसेम्बर १८ मा यमनको होडेडालाई लक्षित गरी युद्धबिराम लागू भएयता सरकारी पक्षका सेना मारिएको खबर पहिलोपटक सार्वजनिक भएको हो ।

आफ्नो नाम नबताउने शर्तमा ती अधिकारीले इरान समर्थित हुथी विद्रोहीले एकसय ८३ पटक युद्धबिराम उल्लङ्घन गरेको जानकारी दिनुभयो । “दुर्भाग्य नै भन्नुपर्छ हुथी विद्रोहीको व्यवहार भडकाउ किसिमको छ र उनीहरु कसैप्रति जवाफदेही देखिएका छैनन् ।”

उहाँले तर यमन सरकारको समर्थन गरिरहेको साउदी गठबन्धनले प्रतिक्रियास्वरुप कारबाही नगरेको र युद्धबिराम भएदेखि हालसम्म कुनै हवाई हमला वा अन्य कारबाही नगरेको जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसङ्घको निकै ठूलो प्रयत्नपश्चात् भएको युद्धबिराम निकै तरल अवस्थामा छ । दुबै पक्षले एकअर्का बिरुद्ध युद्धबिराम उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।

अवकाशप्राप्त डच जनरल प्याट्रिक कामार्टको नेतृत्वमा सरकारी र विद्रोही हुथीका प्रतिनिधि सम्मिलित अनुगमन समितिले युद्धबिरामको अनुगमन गर्न थालिसकेको छ ।

कामार्ट विद्रोहीको कब्जामा रहेको राजधानी सानाबाट आइतबार होडेडा पुगिसक्नुभएको छ । एडेनमा उहाँले सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्नुभएको थियो ।

साउदी गठबन्धनले होडेडामा कामार्ट पुगिसकेकामा सन्तोष व्यक्त गरेको छ । “हामी कामार्टलाई सहयोग गर्न तत्पर छौं । हाम्रो विश्वास छ उहाँ सफल हुनुहुनेछ,” साउदी गठबन्धन आबद्ध ती अधिकारीले बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार, कामार्टले बुधबार नै संयुक्त समितिको बैठकको अध्यक्षता गर्नुहुनेछ । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदले युद्धबिरामको अनुगमनका लागि अनुगमनकर्ताहरु होडेडा पठाउने बारेमा सर्वसम्मत निर्णय गरेको थियो । राष्ट्रसङ्घीय अनुगमन टोलीले होडेडाबाट विद्रोही लडाकूहरु अन्यत्र स्थानान्तरित भएको अनुगमन गर्नेछ ।

होडेडा बन्दरगाह शहर हो, र यहाँबाट यमनका विभिन्न स्थानमा खाद्यान्न तथा अन्य आवश्यक वस्तुहरुको आपूर्ति हुने गर्दछ ।

साउदी गठबन्धनले सन् २०१५ देखि हवाई कारबाही थालेयता यमनमा १० हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने हजारौं मानिस विस्थापित भएका छन् । साथै, यमनको गृहयुद्धका कारण डरलाग्दो मानवीय सङ्कट उत्पन्न भएको अन्तर्राष्ट्रिय संघसंस्थाले जनाएका छन् ।
–रासस

प्रतिक्रिया