चोरीमा संलग्न गिरोह पक्राउ

admin

धरान, १८ पुस : मोटरसाइकलसहित मोबाइल र नगद लुटपाट गर्ने एक गिरोहलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धरान–१९ का ङिमा ओङ्जु शोर्पा र धरान–१६ का विनोद लिम्बूसहित पाँच जना रहेको इप्रका धरानका प्रमुख प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । मोबाइलको कल डिटेलका आधारमा उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । 

उनीहरूले धरान–१७ स्थित सर्दु खोलामा मङ्सिर २७ गते सुनसरी कोशी गाउँपालिका–६ का बेचन मियाको को २ प ७६२० नंको मोटरसाइकल, एक थान मोबाइल र रु एक हजार ३०० नगद लुटपाट गरेको प्रहरीले जनाएको छ । भारत अररिया बस्मतियाका सबुर मन्सुरीले बोकेको एक थान मोबाइलसमेत लुटपाट गरेका उजुरी परेको छ । लुटपाटपछि उक्त मोबाइल धरान–१५ का दिपेश परियारलाई बेचेको पत्ता लागेपछि प्रहरीले पुस १६ गते परियारलाई नियन्त्रणमा लिएर चोरीको मोबाइल बरामद गरेको प्रहरी नायब उपरीक्षक तिम्सिनाले बताउनुभयो । 

 

चोरी गरेको मोटरसाइकलको पाटपुर्जा खोलेर धरान–१० का लडन अन्सारीको मोटरसाइकल ग्यारेजमा दिएका थिए । उक्त ग्यारेजबाट इञ्जिन बरामद गरिएको र अन्य पार्टपुर्जा भने धरान–१२ स्थित महेश विकको न्यू पाथीभरा वर्कसपमा फेला पारिएको उहाँले जानकारी दिनुभयो । पक्राउ परेकालाई आज अदालतमा म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । 

-रासस

प्रतिक्रिया