कर्मचारी समायोजन अध्यादेश, २०७५ स्वीकृत

कृष्ण रोकाया

काठमाडौँ, २० पुस : राष्ट्रियसभाको आजको बैठकले ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्ताव गर्नुभएको उक्त विधेयकलाई बैठकले स्वीकृत गरेको हो।

यस्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५ लाई दफाबार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘प्रदेश लोक सेवा आयोग(आधार र मापदण्ड) विधेयक, २०७५ सदनमा पेश गर्नुभयो ।

बैठकले विसं २०७० को संविधानसभामा निर्वाचित सदस्य तथा पूर्ववन तथा भू–संरक्षण राज्यमन्त्री कमलादेवी शर्माको निधनप्रति शोक प्रकट गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित सांसद शर्माको यही पुस १६ गते हृदयघात भई उपचारका क्रममा ललितपुर मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

राष्ट्रियसभाले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै दिवङ्गग आत्माको चीर शान्तिको कामनासमेत गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही पुस २५ गते बुधबार बिहान ११ बजे बस्नेछ । रासस

प्रतिक्रिया