यमबुद्धको हत्याको प्रमाण भेटियो ? परिवारमा अझै आँशु रोकिएनन् (भिडियो)

मनिषा थापा

आजभन्दा २ वर्ष अगाडि र्‍यापर यम बुद्धले आफ्नो परिवार र शुभचिन्तकलाई आँशुमा डुबाएर संसार छोडे । लण्डनमा रहेका उनले आत्महत्या गरेका समाचारहरु छ्यापछ्याप्ती भेटिए । आफ्नो एक्लो छोराको आत्महत्याको खबर सुनेर आमाबुबाको मनमा के भयो, त्यो कल्पनाभन्दा बाहिरको कुरा थियो । भर्खर २९ वर्ष पुगेको एक्लो छोराले आत्महत्या गरेपछि यम बुद्धमा बाबा–आमाको आँशु अहिले पनि सुकेको छैन । ‘हामी दिनदिनै मरिरहेका छौं’

यम बुद्धका बुबा अम्बिकाप्रसाद अधिकारी र आमा उर्मिला अधिकारीले छोरालाई सम्झेर नरोएको दिन छैन । जब साँझ पर्छ, उनीहरु अंकमाल गर्दै छोराको यादमा आशु बगाउँछन् । ‘दिनभरि त जसोतसो मन भुलेको हुन्छ, जब साँझ पर्छ, अनि छोराको यादले मुटु भक्कानिएर आउँछ’, यम बुद्धकी आमा भन्छिन्, ‘के गर्नु ? सम्झियो, रोयो । त्यसको विकल्प त केही छैन रहेछ ।’

छोराको यादमा धेरैपटक झस्किएकी छिन्, आमा । सपनामा आएर छोराले नरुन आग्रह पनि गर्ने गर्छन् । तर, त्यो कुराले उनको मनमा झनै ठूलो पीडा थपिदिन्छ । ‘सपनामा आफूसँगै बेडमा खेलिरहेको छोरा आँखा खोल्दा साथमा हुदैन । त्यस समय एउटी आमाको मन कस्तो हुन्छ होला ?’ आमाका आखाँमा आशु भरिन्छन् । कसैले ठूलो आवाजमा बोल्यो भने बाबा–आमालाई आफ्नै छोराले बोलाएजस्तै लाग्छ । मलीन स्वरमा बुबा भन्छन्– ‘उ पनि राति राति घर फर्किँदा ठूलो स्वरले चिच्याउने गर्थ्यो । त्यसैले कसैले ठूलो स्वरमा बोल्यो भने हामी छोराको स्वर सुन्छौं ।’

यमबुद्धलाई सम्झेर गरिने सभा–समारोहमा सहभागिता जनाउन उनीहरुलाई गाह्रो हुन्छ । प्रज्ञा भवन र पशुपति पुग्न सक्दैनन् उनीहरु । ‘म त मन कठोर बनाएर भए पनि केही कार्यक्रमहरुमा पुग्छु’, बुबा थप्छन्, ‘उनलाई (आमालाई) त गाह्रो हुन्छ । त्यसैले पनि उनी कतै जाँदिनन् ।’ यम बुद्धले आमाबुबालाई विभिन्न रेष्टुरेन्टहरुमा लाने गर्थे । अहिले छोराले लगेको रेष्टुरेन्टसम्म पुग्ने हिम्मत उनीहरुमा छैन् । यमबुद्धका बुबा भन्छन्, ‘छोराले जुन जुन रेष्टुरेन्टमा लग्यो, त्यो रेष्टुरेन्टसम्म पुग्ने सामथ्र्य हामीमा छैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू