दक्षिणी सुडानका २० हजार शरणार्थी स्वदेश फिर्ता

admin

कम्पाला, २३ माघ : दक्षिणी सुडानका झण्डै २० हजार शरणार्थी स्वदेश फर्किएको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रसङ्घीय एक निकायले बुधबार सार्वजनिक गरेको तथ्याङ्कनुसार देशमा पछिल्लो समयमा भइरहेको शान्ति प्रक्रियाको प्रभावले उनीहरु स्वदेश फर्किएका हुन् । दक्षिणी सुडानबाट विस्थापित भएर युगाण्डा पुगेका उनीहरु स्वतः स्फुर्तरुपमा स्वदेश फर्किएको राष्ट्रसङ्घीय अधिकारीहरुले जनाएका छन् ।

शरणार्थीका लागि राष्ट्रसङ्घीय उच्च आयोगका तर्फबाट युगाण्डामा रहेका प्रतिनिधि जोएल बौट्रोयले २० हजारभन्दा बढी शरणार्थी घर फर्किएको जानकारी दिनुभएको हो । “सरकारले स्वदेश फर्किनेहरुको सङ्ख्या हामीले भनेको भन्दा धेरै बढी रहेको दाबी गरेको छ, तर हामीले भने २० हजारको हाराहारीमा शरणार्थी स्वदेश फर्किएको पाएका छौँ,” उहाँले भन्नुभयो ।

युगाण्डामा अहिले झण्डै १२ लाख शरणार्थी रहेका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै शरणार्थी हुन् । तीमध्ये सात लाख ८९ हजार ९९ शरणार्थी छिमेकी मुलुक दक्षिणी सुडानबाट आएको समाचारमा जनाइएको छ ।
-रासस÷सिन्ह्वा

प्रतिक्रिया