नारायणगढमा ट्राफिक लाइट जडान

रिता घिसिंग

भरतपुर, १५ फागुन (रासस) : चितवनको व्यस्त बजार नारायणगढमा परीक्षणका लागि ट्राफिक लाइट जडान शुरु गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने नारायणगढ बजारको शहीदचोकमा ट्राफिक लाइट जडान गर्न शुरु गरिएको हो ।

सम्पूर्ण रुपमा सञ्चालन हुने गरी एक हप्ताभित्र जडानको काम सम्पन्न गरिने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा नै पहिलोपटक ट्राफिक लाइट जडान गरिएको हो, शहीदचोकमा परीक्षण गर्छौं र त्यसको प्रभावकारिताका आधारमा अन्य व्यस्त चोकमा पनि ट्राफिक लाइट जडान गर्छौं ।” महानगरपालिका र निजी क्षेत्रको साझेदारीमा ट्राफिक लाइट जडान गरिएको उहाँले बताउनुभयो ।

करीब रु २५ लाखको लागतमा जडान गरिएको लाइटको २० प्रतिशत मात्र महानगरपालिकाले व्यहोर्ने छ । अन्य ८० प्रतिशत जडानको जिम्मा पाएको यार्सा टेक्नोलोजी प्राइभेट लिमिटेड काठमाडौँले व्यहोर्ने छ । ट्राफिक लाइट जडानका लागि महानगरले २०७५ साल जेठमा यार्सा टेक्नोलोजीसँग सम्झौता गरेको थियो । शहीदचोकमा जडान गरिएको ट्राफिक लाइट प्रभावकारी भए क्रमशः पुल्चोक, लायन्चोक, चौबिसकोठी र हाकिमचोकमा पनि जडान गरिने बताइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले ट्राफिक लाइट जडानपश्चात् ट्राफिक व्यवस्थापनमा सहजता हुने बताउनुभयो । “कहिलेकाहीँ पुल्चोकदेखि शहीदचोक सम्मै ट्राफिक जाम हुने गरेको छ”, उहाँले भन्नुभयो, “ट्राफिक जनशक्तिको अभाव अब लाइटले पूरा गर्छ ।” जिल्लाभर ४५ मात्र ट्राफिक प्रहरीको दरबन्दी छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने नारायणगढ क्षेत्र भएर दैनिक १५ हजार सवारीसाधन ओहोरदोहोर गर्छन् ।

नतिजा सुधार्न अतिरिक्त कक्षा

राप्ती नगरपालिकाले एसइई परीक्षाको नतिजा सुधार्न नगरभित्रका सामुदायिक विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गरिरहेको छ । नगरभित्रका सात सामुदायिक विद्यालयमा एसइई परीक्षा दिने विद्यार्थीका लागि तीन महीना अतिरिक्त कक्षा सञ्चालन गरिएको हो ।

गत पुसदेखि अतिरिक्त कक्षा सञ्चालन गरिएको नगर प्रमुख प्रभा बरालले बताउनुभयो । “शिक्षाको गुणस्तरमा सुधार ल्याउन अतिरिक्त समय कक्षा सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो, “स्तर वृद्धिका लागि सबै विद्यालयका प्रधानाध्यापकसँग छलफलपछि यो निर्णय भएको हो ।” राष्ट्रिय मावि महादेवटार, बुद्धशान्ति मावि पिप्ले, भण्डारा मावि भण्डारा, वीरेन्द्र आदर्श मावि वीरेन्द्रनगर, माध्यमिक विद्यालय वर्मनगर, राष्ट्रिय मावि स्वामिटार र थाकलटार माविमा अतिरिक्त कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो । राष्ट्रिय मावि स्वामिटार र थाकलटार माविमा अधिकांश चेपाङ समुदायका बालबालिका अध्ययन गर्छन् ।

“अतिरिक्त समयमा पढाउने शिक्षकको सेवासुविधाका लागि नगरपालिकाबाट बजेटबाट व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “यसका लागि प्रति पिरेड शिक्षकलाई रु ३०० प्रदान गरेका छौँ ।” अतिरिक्त कक्षाको एकमुष्ट रकम विद्यालयलाई दिइएको उहाँले बताउनुभयो । स्थानीय तह मातहत आएपछि सामुदायिक विद्यालयको स्तर सुधार्न नगरपालिकालाई थप चुनौती थपिएको बरालले बताउनुभयो ।

विद्यालय सुधार योजना, निरन्तर विद्यार्थी मूल्याङ्कन र शिक्षक हाजिरीलगायत योजनालाई प्राथमिकता दिइएको नगरपालिकाका शिक्षा अधिकृत हुमाकान्त अधिकारीले बताउनुभयो । नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा चेपाङ, दलित, आदिवासीलगायत निम्न वर्गीय परिवारका बालबालिका अध्ययन गरिरहेका कारण पनि नगरपालिकाले निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरेको उहाँले बताउनुभयो । नगरपालिकाभित्र रहेका सात विद्यालयमा करीब ८०० बालबालिकाले एसइई परीक्षा दिँदै छन् ।

प्रतिक्रिया