छातीमा समस्या देखिएपछि दलाई लामा अस्पताल भर्ना

रिता घिसिंग

नयाँ दिल्ली, २७ चैत (रासस -एएफपी) : भारतमा निर्वासनमा रहनु भएका तिब्बती धर्मगुरु दलाई लामा छातीमा समस्या देखिएपछि नयाँ दिल्लीमा रहेको एक अस्पतालमा उपचारको क्रममा भर्ना हुनु भएको छ ।

उहाँको स्वास्थ्यमा सुधार आएको र छिटै नै अस्पतालबाट डिस्चार्ज गरिने लामाका नजिकैका नातेदारले बताउनुभएको छ ।

उहाँलाई केही दिनमा नै अस्पतालबाट घर लैजाने लामाका निजी प्रवक्ता तेन्जिन ताक्लाले एएफपी समाचार समितिलाई बताउनुभएको छ । ८३ वर्षीय दलाई लामालाई छातीमा सङ्क्रमण भएको तर हालको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।

प्रवक्ता ताक्लाका अनुसार दलाई लामालाई स्वास्थ्यमा केही अप्ठ्यारो महसुस भएपछि विमानमार्फत् हिमाँचल राज्यको धर्मशालाबाट दिल्ली ल्याइएको थियो ।

दलाई लामा नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत व्यक्तित्व समेत हुनुहुन्छ ।

प्रतिक्रिया