बुबालाई पछ्याउँदै आर्चरी खेलाडी अनुष्का

रिता घिसिंग

बाँके, ११ वैशाख (रासस) : नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा सहभागी अनुष्का शेरचनले सबैको ध्यान आफूतिर खिँचिन् । । सानो उमेर, सानो कद र कद बराबर ‘बो’ जब उनले उचालेर आफ्नो लक्ष्यमा निशाना लगाइन्, उपस्थित सबैको ध्यान ऊ प्रति खिँचियोे ।

पोखरा महानगरपालिका–४ रानीपौवा निवासी अनुष्का भर्खरै कक्षा ७ मा बी प्लस नतीजा ल्याएर उत्तीर्ण भएकी छन् । नोभेल सेकेण्डरी पोखरामा अध्ययनरत अनुष्का कान्छी छोरी हुन् । उनको बुबा योगेन्द्र शेरचन आर्चरी प्रशिक्षक हुन् । योगेन्द्र कास्की आर्चरी सङ्घका अध्यक्ष तथा नेपाल आर्चरी सङ्घका सचिवसमेत रहेका छन् ।

आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि उनी आबद्ध अन्नपूर्ण आर्चरी क्लब र कास्की आर्चरी सङ्घबीच भएको प्रतिष्पर्धामा छनोट भएपछि उनले पहिलोपटक राष्ट्रियस्तरको आर्चरी प्रतियोगितामा सहभागिता जनाइन् । आर्चरी खेलका लागि चारजना खेलाडी छनोट हुनुपर्छ जसमा तीन जनाले खेल्ने र एकजना अतिरिक्तमा रहने व्यवस्था छ ।

त्यसो त उनको परिवार नै खेल क्षेत्रमा कतै न कतै आबद्ध छन् । योगेन्द्रले धेरै पटक ओलम्पिकमा टिम प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् भने उनकी फुपू शान्ति शेरचन पाँचौं राष्ट्रिय खेलकूदमा आर्चरीतर्फ स्वर्ण पदक विजेता तथा ११ औं ओलम्पिककी उच्च स्कोरर पनि हुन् ।
उनका दाजु अनिप शेरचन पनि आर्चरी, फुटबल तथा कराँतेका खेलाडी हुन् । यही पारिवारिक पृष्ठभूमिबाट आएकी अनुष्का ११ वर्षको उमेरदेखि नै आर्चरी खेलतर्फ मोडिइन् । ते¥ह वर्षको कलिलो उमेरमै राष्ट्रिय खेलकूदमा भाग लिने अवसर पाइन् । आफूभन्दा अग्रज र खारिएका खेलाडीसँग अनुष्काले प्रतिस्पर्धा गरिन् ।

कुल ९६ प्रतिस्पर्धीका बीचमा एउटा बालिकाले तीर प्रहार गरिरहँदा दर्शकले अचम्म मान्दै चासोका साथ उनलाई नियाले । आफूभन्दा निकै अग्रजसँग प्रतिष्पर्धा गर्नु उनका लागि चुनौतीपूर्ण थियो । कलिलो उमेर, लामो समयको अनुभव र ज्ञानका कुरामा केही कमजोरी भएकै कारण उनी १६ जनासँगको प्रिक्वार्टर फाइनलमा आफ्नै क्लबका खेलाडी अर्चना थापासँग हारिन् तर, उनको त्यो हार त्यतिकै खेर गएन । यद्यपि, उनले आठौं खेलकूदको स्टाण्डर्ड ओमेन टिम इभेन्टमा आफ्नो क्लब अन्नपूर्ण आर्चरीलाई स्वर्ण पदक जिताउन महत्वपूर्ण भूमिका खेलिन् । अनुष्का भन्छिन् – “खेल जितिहाल्छु भन्ने विश्वास त लागेको छैन तर, आफूभन्दा योग्य, अग्रज र अनुभवी खेलाडीसँग खेल्न पाउँदा धेरै कुराहरू सिक्ने अवसर पाइरहेकी छु । उहाँहरुसँग खेल्न पाउनु पनि एक प्रकारको जीत हो भन्ठान्छु ।”
आर्चरीमै ओलम्पियन बनेर बुबाआमा र देशको नाम उँचो राख्ने उनको धोको छ । ‘ते¥हौंं सागमा पनि भाग लिन्छु,” अनुष्का भन्छिन् – “आर्चरी मेरो जीवन भइसक्यो । आर्चरीमै रमाउँछु ।” अनुष्का प्रतिस्पर्धीमध्येकी सबैभन्दा कान्छी हुन् । त्यही प्रतियोगितामा ७० वर्षीय रामप्रसाद राईले पनि भाग लिएका थिए ।

नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपकराज गुरुङ यो खेलमा उमेरको कुनै हद नहुने बताउँछन् । उनले भने – “आर्चरीलाई थप व्यावसायिक बनाउन र खेलाडीलाई खेलप्रतिको जिम्मेवारी बढाएर पदक भित्र्याउन हामी लागि परेका छौं ।” सङ्घले सबै प्रदेशमा खेलाडी उत्पादन गर्ने योजना बनाएको गुरुङको भनाइ छ ।

“आर्चरी खेलको प्रवद्र्धन र विकासका लागि खेलमा देखिएको सहभागिताले हामीलाई थप उत्साहित बनाएको छ, बालिकादेखि वृद्धसम्मको उपस्थिति झनै महत्वपूर्ण छ, हामीलाई यसले थप हौसला दिएको छ,” उनी भन्छन् – “आर्चरी खेलमा भएको सहभागिताले खेलाडीमा उत्साह थपिदिएको छ ।”
नेपालमा आर्चरीको शुरूआत विसं २०४४ देखि नै भए पनि आधुनिक आर्चरी खेल शुरु भएको आधा दशक मात्रै भएको छ । खेल्ने ठाउँ र प्राविधिक जनशक्तिको अभाव, राज्यको न्यून लगानी जस्ता कारण नेपालले प्रशस्त सम्भावना भए पनि सफलता हात पार्न नसकेको अध्यक्ष गुरुङको अनुभव छ । उनले भने – “विगतको नेतृत्वले चासो दिएन । अहिले बामे सर्ने अवस्थामा आइपुगेको छ ।”

अनुष्का यसरी आइन् आर्चरीमा

अनुष्का शान्त स्वभावकी कम बोल्ने खेलाडी हुन् । हरक्षण केही नयाँ सिक्ने इच्छा राख्ने अनुष्कालाई उनको बुबाले पहिलोपल्ट ११ वर्षको उमेरमा आर्चरी खेल सिकाए । शुरुमा जिज्ञासु हुदै बुबालाई पछ्याउने उनी विस्तारै पछि आर्चरीतर्फ उनले ध्यान नदिएपछि बुबाले पनि करकाप गरेनन् ।

पढाइमा औधी रुचि राख्ने अनुष्का १२ वर्ष पार गरेपछि एकदिन स्वतःस्फूर्त रुपमा ‘बुबा मलाई आर्चरी सिकाउनुहुन्नँ’ भनेपछि हर्षित भएका योगेन्द्रले त्यस दिनदेखि उनलाई आर्चरी खेलको सबै कुरा सिकाएका हुन् । “हो त्यही दिनदेखि मेरी छोरीको आर्चरी खेलमा आगमन भयो,” हर्षित मुद्रामा उनले आफ्नो विगत सम्झे ।

ओलम्पिक खेल्ने अनुष्का रहर

कलिलो उमेरमा खेल क्षेत्रमा बामे सर्दै गरेकी अनुष्काले आर्चरी खेल क्षेत्रमा सम्भावना छ भन्ने प्रमाणित गरिसकेकी छन् । नेपालमा आर्चरी खेल २०४४ सालदेखि खेल्न थालिए पनि यो परम्परागत रुपमै सीमित थियो । आधा दशक अघिदेखि मात्र आधुनिक आर्चरी खेलले नेपालमा गति लिएको हो ।

यो अवधिमा भने आर्चरी खेलको प्रवद्र्धन, उत्थान र यसको विकासका लागि थुप्रै प्रयासहरु नभएका भने होइनन् तर, त्यतिले मात्र पुग्दैन । आर्चरी खेल सामान्य रुपमा निशाना लगाउने र कमानबाट तीर छोड्ने भन्ने आममानिसमा बुझाइ छ । यद्यपि, यसलाई गहिरिएर नियाल्ने हो भने कुरा फरक छ । आर्चरी खेलका लागि आवश्यक सामग्री, खेल मैदान र यसको प्रशिक्षक नै आर्चरीका लागि ठूलो चुनौती बन्दै आएको छ ।

यो एक प्रकारले महङ्गो खेल पनि हो जसका कारण यो खेल सबैले खेल्ने आँट गर्दैनन् । तर, आफ्नै बुबा आर्चरीका प्रशिक्षक हुनु र घरेलु वातावरण पनि अनुकूल हुनु अनुष्काका उत्प्रेरणा हुन् । अनुष्काले आफ्नो भावी उद्देश्य सुनाउँदै भनिन् – “मैले बुबाबाट प्ररेणा पाएँ । अण्डर–१६ ओलम्पिक गेम खेल्ने धोको छ । खेल्न मात्र नभई गोल्ड मेडल जितेर वुबाआमा र देशको नाम विश्वसामु परिचित गराउनु छ । आठौं खेलकूद मेरा लागि सुनौलो अवसर बनिदियो । आर्चरी खेलमै केही गरेर देखाउँछु ।”
खेलकुदमा उमेरले नछेक्ने उनको भनाइ छ । अनुष्काको सुझाव छ, “खेलमा उमेर हद हुँदैन । अझ आर्चरीमा झन् यो लागू नै हुँदैन । मात्र कुन खेल खेल्ने भन्ने कुरा निर्णय लिनु र त्यसमा नियमित अभ्यस्त हुनु ठूलो कुरा हो ।” आफूमा लुकेको क्षमता उजागर गर्न उनी महिला खेलाडीलाई सुझाव दिन्छिन् ।

प्रतिक्रिया