विष्टले स्थापना गरेको कर्णाली इन्स्टिच्युट अलपत्र

रिता घिसिंग

खलङ्गा, १३ वैशाख (रासस) : जुम्लाको पातारासी गाउँपालिका–६ मा नेपालका चर्चित मानवशास्त्र तथा समाजशास्त्रका पिता डोरबहादुर विष्टले स्थापना गर्नुभएको कर्णाली इन्स्टिच्युट अहिले अलपत्र अवस्थामा छ । देशको विभिन्न भागको अनुसन्धान गर्नुभएका उहाँले विसं २०४२ मा तत्कालीन नेता भीमप्रसाद श्रेष्ठसँग जुम्ला आएर यहाँको सामाजिक,  आर्थिक,साँस्कृतिक र  भाषिक विकासका लागि सो केन्द्र खोल्नुभएको थियो । 

जुम्लाको साविक डिल्लीचौर गाविसको चौधबिस क्षेत्रमा गुणस्तरीय शिक्षा, बिजुली बत्ती बाल्नेलगायत थुप्रै विकास तथा निर्माणका काम थालिएको यहाँका पाका व्यक्ति बताउँछन् । मानवशास्त्री तथा समाजशास्त्री विष्टले विसं २०५० मा डिल्लीचौरमा रहेको ऋणमोक्ष मावि भवन निर्माण र तिर्खु गाउँमा एक किलोवाटको विद्युतगृह निर्माण गरी  जम्न र लासी गाउँमा उज्यालो पार्नुभएको उक्त इन्स्टिच्युटका कर्मचारी तथा तिर्खु गाउँका समाजसेवी दीपक ऐडीले बताउनुभयो ।

 

चौधबिसका धुलाम्मे बाटोमा ढुङ्गा विछ््याएर बाटो बनाउने, छुवाछुत अन्त्यका लागि गाउँ÷गाउँमा अन्तक्र्रिया गर्नेदेखि खस सभ्यताबारे अनुसन्धानको कामसमेत गर्नुभएका विष्ट जुम्लाबाट फर्केपछि बेपत्ता हुनुभएकामा आफूहरू चिन्तित भएको उहाँले बताउनुभयो  । यसैगरी विद्यालयमा दक्ष स्वादेशी तथा विदेशी शिक्षक ल्याएर अङ्ग्रेजी विषयको अध्यापन गराउनाका साथै अन्य सामाजिक विकासका कार्यक्रममा उहाँको योगदान रहेको उक्त गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले जानकारी दिनुभयो । 

बाहिरबाट हेर्दा उक्त भवन राम्रै देखिए पनि  भित्र छाना छाएको काठ भत्किएर चोरी हुनाका साथै द्वन्द्वकालअघिसम्म सञ्चालन हुँदै आएको पुस्तकालयको हजारौ किताब हराएर  अहिले बेवारिसे भएको छ । 

उक्त इन्स्टिच्युट संरक्षणका लागि  रु १० लाख विनियोजन गरिएको सोही गाविसका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो । सो भवनलाई अव विष्टको परिवारसँग सल्लाह गरेर गाउँपालिकाले सरकारी कामकाजको इन्स्टिच्युटका रुपमा प्रयोगमा ल्याउन गर्न पहल गरिने अध्यक्ष बोहराले बताउनुभयो । पछिल्लो समय उक्त इन्स्टिच्युट अवलोकन गर्न गाउँपालिका अध्यक्ष बोहरा, प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेलगायत पदाधिकारी त्यहाँ  पुग्नुभएको थियो ।  त्यसबेला त्यहाँ रोपिएका पिपलका बोटसहितको सल्लाको बगैँचा अहिले पनि छ । समाजशास्त्री  विष्ट विसं २०५२ पुस २७ गते नेपाल एयरलाइन्सको जहाज चढेर जुम्लाबाट  उडेपछि बेपत्ता हुनुभएको थियो  ।

विसं १९८३ माघ ४ गते ललितपुरमा जन्मनुभएका विष्टले प्रवेशिका परीक्षा उत्रीर्ण गरी भारतको पटनाबाट प्रमाणपत्र तह र बेलायतबाट मानवशास्त्रमा  स्नातक गर्नाका साथै अध्ययनका क्रममा त्यहाँका प्राध्यापकसँग नेपाली मानवशास्त्र अनुकूल आफूले विश्लेषण र अध्ययन गर्न पाउनुपर्ने फरक मत राखी स्वदेश फर्कनुभएकाले  उहाँलाई नेपाली मानव शास्त्रका पिता भनिएको जानकारहरू बताउँछन् ।

 उहाँले सामुदायिक विद्यालयको  शिक्षक, प्रधानाध्यापक हँुदै त्रिभुवन विश्वविद्यालयको प्राध्यापक र विभागीय जिम्मेवारी सम्हाल्नु भएको थियो ।

 

प्रतिक्रिया