विश्वकै दोस्रो अग्लो बञ्जीजम्पको निर्माणकार्य अन्तिम चरणमा

शर्मिला गुरुङ

बलेवा, १४ वैशाख  :  बागलुङको बलेवा र पर्वत सदरमुकाम कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भइरहेको बञ्जीजम्पको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको पुलसहितको बञ्जीजम्पको ८० प्रतिशत काम सकिएको निर्माण कम्पनी ‘द क्लिफ’ प्रालिले जनाएको छ । आगामी साउनसम्ममा सञ्चालनमा ल्याउने गरी काम भइरहेको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो ।पुलसहितको बञ्जीजम्प र बागलुङको बलेवा क्षेत्रमा रिसोर्ट निर्माणको कामसमेत भइरहेको छ । रु १६ करोड लगानी गरेर बञ्जीजम्प र रिर्सोट सञ्चालनमा ल्याउन लागिएको कार्कीले सुनाउनुभयो । कालीगण्डकी नदीको सतहदेखि बञ्जीजम्पको उचाइ २२८ मिटर रहेको छ । 

हालसम्म विश्वमा बनेका बञ्जीजम्पमध्ये चीनले सन् २०१८ मा बनाएको बञ्जीजम्प विश्वकै सबैभन्दा बढी उचाइ भएको बञ्जीजम्प मानिन्छ । सिसाको पुलसहितको त्यस बञ्जीजम्पको उचाइ २६० मिटर छ । दोस्रोमा मकाउ टावरको उचाइ २३३ मिटर छ । “साहसिक पर्यटकको गन्तव्य अब कालीगण्डकीमाथिको पुलसहितको बञ्जीजम्प हो”, कार्कीले भन्नुभयो, “पर्यटकलाई ध्यानमा राखेर बलेवा क्षेत्रमा रिर्सोटसमेत बनाएका छौँ ।” कूल २२ रोपनी जग्गामा रिर्सोट फैलिएको छ । “यस क्षेत्रको परिचय अग्ला झोलुङ्गे पुलका रुपमा बनिरहेको छ”, कार्कीले भन्नुभयोे, “अब म यसलाई साहसिक पर्यटनको स्थल बनाउँछु ।” रासस 

  

प्रतिक्रिया