ललितानिवास प्रकरणमा मुछिए ए क्लास बैंकहरू

admin

काठमाडौं, बैशाख १७ : भूमाफिया र जग्गाधनीका कारण किर्ते गरी बेचिएको बालुवाटारको ललितानिवासको एक सय १३ रोपनी जग्गा प्रकरणमा नेपालका एक क्लासका बैंक मुछिएका छन् । नेपाल इन्भेस्टमेन्ट बैंक, नबिल बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, एभरेस्ट बैंक, एनआइसी एसिया बैंक र एसबिआई बैंकले उक्त विवादीत जग्गा बेच्ने माफिया र जग्गाधनीलाई ऋण दिएको खुलासा भएको छ । विवादीत जग्गामा ऋण प्रदान गर्न बैंक सञ्चालक समितिका पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतहरूको मिलोमतो रहेको स्रोतले जनाएको छ ।

 

अवैध जग्गामा यस्ता बैंकहरूको ठूलो रकम लगानी भएको प्रमाणित भए वित्तिय क्षेत्रमा संकट आउने अर्थविद्हरू बताउँछन् । यी बैंकले लगानी गरेका ४१७ वटा कित्ता जग्गा कारोबारमा रोक लगाइसकेको छ । डिल्लीबजार मालपोत कार्यालयका अनुसार बालुवाटारको चार सय १७ कित्ता जग्गा रोक्का गरिएको हो ।अवैध रुपमा व्यक्तिको नाममा लगिएको जग्गा तीन सय ३४ कित्ता र सरकारको नाममा रहेको ८३ कित्ता कारोबार बेचविखनमा रोक्का लगाइएको हो । व्यक्तिको नाममा लगिएको तीन सय ३४ कित्ता जग्गाको जम्मा क्षेत्रफल ९९ रोपनी छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा जाने गरी माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले गरेको निर्णय खारेज गर्न’ प्रस्ताव गरेको छ । ‘यस्तो जग्गामा वित्तिय क्षेत्रमा नाम कमाएका बैंकको लगानी रहेको अवस्थामा त्यो फिर्ता हुने छैन । बैंकले कसरी गर्नेछन् त्यो उनीहरूको कुरा भयो तर यसले अर्थतन्त्रमा आघात पुग्छ’, स्रोतले भन्यो ।

त्यसो त यहि संकेत देखेका कारण अर्थमन्त्री युवराज खतिवडाले सोमबारै विभिन्न बैंक र वित्तिय संस्थालाई जग्गामा लगानी नगर्नका लागि भनेका छन् । उनले मौखिक रूपमा दिएको उक्त निर्देशन लिखित रूपमा पनि पुग्ने अर्थ मन्त्रालय स्रोतले जनायो ।बालुवाटार जग्गा प्रकरणमा भूमाफिया शोभाकान्त ढकाल, उनकी पत्नी उमाकुमारी ढकालको संयुक्त नाममा सिट नं. १०२१०२५१४ मा कित्ता नं ८१, ११३, ८६, ७७ र ७९ मा गरी एक रोपनी ६ आना दुई दाम जग्गा छ । त्यस्तै, शोभाकान्त ढकालको नाममा मात्र विभिन्न तीनवटा कित्ता जग्गा छ ।

उनको कित्ता नं. ४०, १२ र ३७ मा सात आना ३.४८ दाम क्षेत्रफलमा फैलिएको घडेरी छ । त्यसबाहेक रूपेशकुमार सुवेदी र सरोज ढकालको संयुक्त नाममा दुई रोपनी आठ आना, एक पैसा २.९३ दाम क्षेत्रफलको जग्गा छ । मीनबहादुर गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकालको नाममा कित्ता नं. ८३ मा १३ आना तीन पैसा क्षेत्रफलमा घडेरी छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

प्रतिक्रिया