यी ९ महिने बालिकाको लागि युएइले परिवर्तन गर्यो देशको कानुन

रिता घिसिंग

एजेन्सी : संयुक्त अरब इमिरेट्स (युएइ)ले ९ महिनाकी एक बालिकाको लागि देशको विद्यमान कानुन नै परिवर्तन गरेको छ । युएइ सरकारले ती बालिकालाई जन्म दर्ता प्रमाण पत्र दिनको लागि कानुन परिवर्तन गरेको हो । यहाँको कानुनअनुसार मुस्लिम महिलाले गैर मुस्लिम पुरुषसँग विवाह गर्न पाउँदैनन् । तर, ती बालिका भने हिन्दू पिता र मुस्लिम आमाकी सन्तान थिइन् । यहाँको कानुनअनुसार मुस्लिम पुरुषले भने गैर मुस्लिम महिलासँग विवाह गर्न पाउँछन् ।

खलीज टाइम्सका अनुसार बालिकाका मातापिता दुवै भारतीय हुन् । युएइको शारजाहमा बस्ने किरण बाबु र सनम साबु सिद्दिकीको २०१६ मा भारतको केरलमा विवाह भएको थियो । त्यसपछि यी दुवै शारजाहमै बस्दै आइरहेका थिए । जुलाइ २०१९ मा दम्पतीले छोरी अनाम्ता एसिलिन किरणलाई जन्म दिए । त्यसपछि भने उनीहरुलाई निकै समस्या भयो ।

किरण बाबुका अनुसार छोरीको जन्मपछि अस्पतालले पिता हिन्दू भएको भन्दै बालिकाको जन्म प्रमाणपत्र दिन अस्वीकार गर्यो । उनले प्रमाणपत्र पाउनको लागि अदालतमा निवेदन दिए तर ४ महिनाको सुनुवाइपछि उनको निवेदन खारेज गरियो । उनीहरुसँग छोरीको अस्तित्व प्रमाणित गर्ने कुनै पनि कानुनी दस्तावेज थिएन । जन्म प्रमाणपत्रको अभावमा बालिकाको पासपोर्ट बनाउने बाटो रोकियो र यी भारतीय दम्पती युएइ छाडेर भारत फर्कन पनि असमर्थ भए किनकि बिना पासपोर्ट बालिकालाई अर्को देश लैजान पाइँदैनथ्यो ।

युएइले २०१९ साललाई इयर अफ टोलेरेन्स (सहनशीलता वर्ष) घोषित गरेको छ । विभिन्न संस्कृतिमा तालमेल स्थापित गर्न सकियोस् र आपसमा स्वीकार्यता बढाउँदै सहिष्णु देश बनाउन सकियोस् भनेर यस्तो गरिएको हो । यही अभियान अन्तर्गत कानुनमै संशोधन गरेर बालिकालाई जन्म प्रमाण पत्र दिइएको हो । जन्म प्रमाणपत्र भएपछि बालिकालाई युएइइ छाडेर अन्यत्र जाने बाटो खुलेको छ ।

प्रतिक्रिया