‘संविधान बनाउनेले नै संविधानको मर्म बुझ्न सकेन’ :अध्यक्ष बिजुक्छे

admin

भादगाउँ, २७ वैशाख : नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधान बनाउनेले नै संविधानको मर्म बुझ्न नसकेको बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माविले आज आयोजना गरेको कक्षा १२ का विद्यार्थीको बिदाइ कार्यक्रममा उहाँले सरकारमा गएका दलहरुले नै संविधानको मर्मअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो ।

अध्यक्ष बिजुक्छेले नयाँ पुस्ताका विद्यार्थीलाई भूगोल, राजनीतिशास्त्र, इतिहास र कला संस्कृति जस्ता विषय अध्ययन गर्न प्रेरित गर्नुपर्नेमा जोड दिँदैं भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजमा कानून र चित्रकला विषयको पठनपाठन गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो । कला र संस्कृतिमा धनी भक्तपुर नगरको संरक्षण र प्रवद्र्धनको निम्ति चित्रकला, काष्ठकला, धातुकला र मूर्तिकला सङ्ग्रहालयको आवश्यकता भएको बताउनुभयो ।

नेपाल मजदूर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले शैक्षिक संस्थाहरुले शिक्षाको नाममा लाखौँ विद्यार्थीलाई ठगिरहेको आरोप लगाउनुभयो । भक्तपुर नगरपालिकाका प्रमुख तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुरको सन्तुलित विकासमा जोड दिँदै शिक्षा क्षेत्रलाई नमूनाका रुपमा प्रस्तुत गर्ने उद्देश्य नगरपालिकाले बोकेको बताउनुभयो ।

प्रतिक्रिया