‘पाँचथर हत्याकाण्डको सत्यतथ्य चाँडै खुल्छ’ :मन्त्री आङ्बो

admin

दमक, १० जेठ : प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पाँचथरको मिक्लाजुङमा भएको हत्याकाण्डको सत्यतथ्य चाँडै सार्वजनिक गरिने बताउनुभएको छ ।

उक्त घटनाका क्रममा भागेर ज्यान जोगाएकी बालिका सीता खजुमको स्वास्थ्य अवस्था बुझ्न आज दमक आउनुभएका मन्त्री आङ्बोले घटनाको सत्यतथ्य छानबिन गरी चाँडै सार्वजनिक गरिने बताउनुभयो ।

बालिकाको उपचारका लागि प्रदेश सरकारले सबै व्यवस्था गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “घटनाको सङ्घीय तथा प्रदेश सरकारले छानबिन तीव्र रुपमा गरिरहेको छ, छिट्टै सत्यतथ्य बाहिर आउँछ ।” घटनाको छानबिनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उहाँले बताउनुभयो ।

मङ्गलबारदेखि सीताको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । उहाँको हात भाँचिएको छ । सीताको स्वास्थ्य अवस्था बुझ्न मन्त्री आङ्बोसँगै नेकपाका नेता योगेश भट्टराई अस्पताल पुग्नुभएको थियो । उहाँहरुले अस्पतालका निर्देशक डा मुक्ति भट्टराईसँग बालिकाको अवस्थाबारे जानकारी लिनुभएको थियो । रासस

प्रतिक्रिया