प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंमा कोलोनी, भैँसेपाटीमा सवा अर्ब लागतमा भवन बन्दै

admin

काठमाडाैं, ७ असार : सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो । कामविशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि स्थायी सरकारी आवास पाउने भएका छन् ।

सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक–एक भवन दिने गरी सवा अर्ब लागतमा १४ वटा भवन निर्माण गर्न लागेको छ । ललितपुरको सैंबु आवास क्षेत्रमा तीन वर्षभित्र प्रदेशका भिआइपीहरूका लागि कोलोनी नै तयार हुने विभागले जनाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

सात प्रदेशलाई सातै ब्लक, १४ भवन
सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि सातवटा ब्लक बनाइनेछ । प्रत्येक ब्लकमा दुईवटा भवन हुने सहरी विकास तथा भवन विभागका विशेष भवन निर्माण संयोजक प्रक्रिर्ण तुलाधरले बताए । ‘प्रत्येक ब्लकमा दुई–दुईवटा भवन बनाइनेछ । एउटा मुख्यमन्त्री र अर्को प्रदेश प्रमुखका लागि हुनेछ,’ तुलाधरले भने । १४ भवन रहेको कोलोनी सुविधासम्पन्न हुनेछ ।

चालू वर्षमै टेन्डर, तीन वर्षभित्र आवास तयार मणिराम गेलाल
सहरी विकास तथा भवन निर्माण विभागले मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीका आवास निर्माणका लागि चालू आवभित्रै टेन्डर प्रक्रिया सक्ने गरी तयारी थालेको छ । विभागका महानिर्देशक मणिराम गेलालले यसै वर्ष टेन्डर सकेर आगामी तीन वर्षभित्र आवास तयार गर्ने योजना रहेको बताए । ‘चालू आवभित्रै टेन्डर प्रक्रिया सकेर आगामी तीन वर्षभित्रमा आवास निर्माण सम्पन्न गरिसक्ने योजना छ,’ उनले भने । उहाँहरू काठमाडौं आइरहनुपर्छ, त्यसैले स्थायी आवास चाहियो

मोहम्मद इस्तियाक राई, सहरी विकासमन्त्री
गत १७ मंसिरमा मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सहरी विकास तथा भवन निर्माण विभागले प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माणको तयारी गरेको हो । प्रदेश प्रमुख र मुख्यमन्त्री विभिन्न प्रयोजनका लागि काठमाडौं आइरहनुपर्छ । त्यसैले उहाँहरूका लागि स्थायी आवास र कार्यालय बनाउन लागिएको हो ।

साढे दुई तलाको भवन : पूजाकोठादेखि योग कक्षसम्म
प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बन्ने सबै भवन साढे दुई तलाका हुनेछन् । विभागका भवन निर्माण संयोजक प्रक्रिर्ण तुलाधरका अनुसार भुइँतलामा प्रतीक्षा कक्ष, सचिवालय, मुख्यमन्त्री तथा प्रदेश प्रमुखको कार्यालय, गोप्य कोठा र २५ जना क्षमताको बैठक हल हुनेछ । त्यस्तै, पहिलो तलामा बैठक कक्ष, योगकोठा, मुख्यमन्त्री वा प्रदेश प्रमुखको सुत्ने कोठासहित तीन कोठा र दोस्रो तलामा भान्साकोठा, पाहुना कोठा, परिवारका सदस्य सुत्ने कोठा र पूजाकोठा हुनेछन् ।

आवास तयार नहुँदासम्म अपार्टमेन्टमा राखिने : १५ फ्ल्याटको मासिक भाडा आठ लाख २५ हजार
आवास निर्माण नसकिँदासम्म प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सरकारले अपार्टमेन्ट भाडामा लिने भएको छ । खुमलटारस्थित डाउनटाउन अपार्टमेन्टमा १५ वटा फ्ल्याट लिने सम्झौता गरिसकेको सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले बताए । प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि दुई बेडरुम, बैठक कक्ष र भान्सा भएका १४ र एउटा थप फ्ल्याट लिन लागिएको विभागले जनाएको छ । प्रत्येक फ्ल्याटको भाडा मासिक ५५ हजारका दरले महिनाको आठ लाख २५ हजार रुपैयाँमा सम्झौता गरिएको छ ।

भिआइपी कोलोनीका लागि २७ रोपनी १२ आना जग्गा
१७ रोपनी ७ आनामा भवन
५ रोपनीमा आन्तरिक सडक
८ आनामा बगैँचा र पोखरी
४ रोपनी १२ आनामा पार्किङ

प्रतिक्रिया